रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्पको टोकाइबाट साँख झारीगाँउका शेरबहादुर घर्तीका अन्दाजी १३ वर्षीय छोरा हेमन्त घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
साँझको खाना खाएर आफ्नै एक तले टिनको घरको भुईँमा सुतिरहेको अवस्थामा सोमबार राती साढे ११ बजे तिर हेमन्तलाई टाउको र दाहिने हातमा कालो रंगको विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
सर्पले टोकेको एक घण्टामै हेमन्तको मृत्यु भएको उहाँले बताउनुभयो । स्थानीय तथा परिवारका सदस्यले उक्त सर्प गोमन भएको बताएको उहाँले बताउनुभयो । विषालु सर्पले टोकी मृत्यु भएको अवस्थामा फेला परेको भनी सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
डिएसपी पौडेलका अनुसार घटनास्थल÷लास जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य गरिएको र उक्त घटनाको थप अनुसन्धान भइरहेको छ । हेमन्त र उनीकी ६ बर्सिया बहिनी साइली आमाको परिवार सँग बसिरहेको सूचना प्राप्त भएको उहाँले बताउनुभयो । उनीहरूका आमा बुवा भारतमा रहेको बताइएको छ ।
मनसुन सुरु भएदेखि जिल्लामा सर्प दंशका घटनाहरू बढ्न थालेका छन् । प्रहरीका अनुसार जिल्लाका विभिन्न ठाउँमा केही दिन अघि पनि सर्प दंशका घटना भएका थिए ।





-1759842583.jpg)