मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, नदी कटान, आकस्मिक बाढी तथा सडक अवरोधको जोखिम कायमै रहेको भन्दै रुकुम पश्चिममा उच्च सतर्कता अपनाइने भएको छ। मनसुन प्रतिकार्य जिल्ला स्तरीय कमान्ड पोस्टको सोमबार बसेको बैठकले जिल्लाको मनसुनजन्य विपद्को वर्तमान अवस्था समीक्षा गर्दै सम्भावित जोखिम न्यूनीकरण, पूर्व तयारी तथा तत्काल प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो । जिल्लामा हालसम्म विपद्बाट ठुलो जनधनको क्षति नभए पनि लगातार वर्षा भइरहेकाले जोखिमलाई सामान्य रूपमा नलिन बैठकले सम्बन्धित सबै निकायलाई सचेत गराएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष गरी पहाडी क्षेत्रमा पहिरो, नदी कटान, बाढी तथा आकस्मिक बाढी र सडक अवरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायले उच्च सतर्कता कायम गर्ने निर्णय गरिएको छ । बैठकले लगातार वर्षाका कारण पहिरो, नदी कटान, बाढी तथा सडक अवरोध हुनसक्ने जोखिमयुक्त र संवेदनशील स्थानमा नियमित अनुगमन तथा निगरानी बढाउने निर्णय गरेको छ । जिल्लाका कुनै पनि स्थानमा पहिरो जाने, जमिन चिरा पर्ने वा भासिने, नदीको धार परिवर्तन हुने तथा पानीको सतह असामान्य रूपमा बढ्नेजस्ता जोखिमका सङ्केत देखिएमा तत्काल जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई जानकारी गराउने र स्थानीय जनप्रतिनिधि, विपद् स्वयंसेवक, विपद् सूचक तथा समुदायलाई सचेत गराउने व्यवस्था मिलाइने भएको छ ।
सम्भावित विपद् आइपरे तत्काल खोज तथा उद्धारमा परिचालन गर्न सकिने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्बन्धित इकाई लाई खोज तथा उद्धार जनशक्ति, आवश्यक उपकरण, सवारीसाधन तथा प्राथमिक उद्धार सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरिएको उहाँको भनाई छ । त्यस्तै, मनसुनका कारण अवरुद्ध हुनसक्ने मध्य पहाडी लोक मार्ग, राप्ती लोक मार्ग तथा जिल्लाभित्रका अन्य सडक खण्डमा नियमित निगरानी गर्ने निर्णय भएको छ । सडक अवरुद्ध भए सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन तथा सम्बन्धित सडक निकाय र सुरक्षा निकायबिच तत्काल समन्वय गरी एम्बुलेन्स, उद्धार टोली तथा अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन गर्न प्राथमिकताका साथ सडक खुलाउने व्यवस्था मिलाइने निर्णय भएको छ ।
बैठकले सानीभेरी नदी तथा जिल्लाका प्रमुख खोला–नदी आसपासका बस्ती, घाट, पुल, सडक र अन्य जोखिमयुक्त क्षेत्रमा पानीको सतह बढेको अवस्थामा विशेष निगरानी गर्ने निर्णयसमेत गरेको जनाको छ । त्यसै गरी नदीमा माछा मार्ने, पौडी खेल्ने, अनावश्यक आवतजावत गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न स्थानीय तह, प्रहरी तथा सञ्चारमाध्यममार्फत निरन्तर सचेतना फैलाउने निर्णय गरिएको छ । जोखिम बढेको अवस्थामा सम्बन्धित बस्तीका नागरिकलाई पूर्व सूचना दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइने भएको छ । यसै गरी, जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त सूचना र स्थानीय तहबाट प्राप्त जोखिमसम्बन्धी विवरणलाई एकीकृत गरी तत्काल सम्बन्धित निकायसम्म पुर्याउने निर्णय गरिएको छ।
आपत्कालीन अवस्थामा सम्पर्कमा कुनै समस्या नहोस् भन्नका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, सडकसम्बन्धी निकाय तथा अन्य सरोकारवाला कार्यालयले सम्पर्क व्यक्ति र फोन नम्बर अद्यावधिक गरी २४ घण्टा सम्पर्क हुनसक्ने व्यवस्था मिलाउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
जोखिम देखिए तत्काल सूचना दिन आग्रह
मनसुन अझै सक्रिय रहेकाले जिल्लावासीलाई नदी तथा खोलानाला, पहिरोको जोखिम भएका क्षेत्र र जोखिमयुक्त सडकमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ । पहिरो जाने सङ्केत, जमिन चिरा पर्ने, नदीको पानी अस्वाभाविक रूपमा बढ्ने वा अन्य जोखिमको अवस्था देखिए तत्काल सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन बैठकले आग्रह गरेको छ । मनसुनजन्य विपद् रोकथाम तथा प्रतिकार्यमा सरकारी निकायसँगै नागरिकको समेत भूमिका महत्त्वपूर्ण हुने भएकाले ‘जोखिम देखेपछि मात्र होइन, जोखिम देखिनुअघि नै सतर्क बनौँ’ भन्ने भावनाका साथ पूर्व तयारीलाई प्राथमिकता दिइएको जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।





