रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय प्रेम रोकाय साउन २७ गते देखि सानीभेरी नदीमा बेपत्ता हुनुहुन्छ । नदीले बगाएर ल्याएका दाउरा निकाल्न वडा नम्बर २ स्थित सानीभेरी नदीमा पसेका रोकाय साउन २७ गते देखि बेपत्ता हुनुहुन्छ ।
आजसम्म रोकायको अवस्था बारे कुनै जानकारी नरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । हराएको खबर लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेर स्थानीय समेतको सहयोगमा खोजी सुरु गरे पनि अहिलेसम्म रोकायको अवस्था बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
बगेको स्थान भन्दा तलतिरका रुकुम पश्चिम सहित, जाजरकोट, सल्यान, सुर्खेत सम्मका प्रहरी युनिटमा जानकारी गराइसकिएको भए पनि अहिलेसम्म रोकाय फेला पर्न नसकेको डिएसपी पौडेलको भनाई छ । रोकाय बगेको स्थान भन्दा तल वडा नम्बर १ को भेरी दोभानस्थित भेरी नदीमा साउन ३० गते एक व्यक्तिको शव फेला परेको थियो ।
उहाँका अनुसार उक्त शव रोकायको हो कि भनेर परिवारका सदस्यलाई देखाइएको तर रोकाय नभएको परिवारजनले पुष्टि गरेका थिए । त्यस्तै सुर्खेतमा एक युवति र एक युवकको शव फेला परेकामा उक्त शव समेत रोकायको नभएको उहाँले बताउनुभयो । अझै खोजी जारी रहेको बताइएको छ ।





-1759842583.jpg)