जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा एक महिनामा १६ वटा अपराधका घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो अर्थात् साउन महिना भरीमा विभिन्न प्रकृतिका १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जसमा जघन्य तथा गम्भीर अपराध ५ वटा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सँग सम्बन्धित अपराध एउटा, आर्थिक अपराध ४ वटा र अन्य ६ वटा गरी १६ वटा अपराध दर्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु मुद्दाका ६ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । भने फैसला कार्यान्वयन तर्फ जिल्ला अदालतबाट फैसला भई फरार रहेका ४ जना पक्राउ परेका छन् । जसबाट एक वर्ष पाँच महिना १२ दिन कैद सजाय र २१ हजार जरिवाना असुल गरिएको प्रहरीको मासिक प्रतिवेदनले देखाएको छ ।
लागू औषधको एउटा मुद्दा दर्ता भएको छ । जुन घटनामा दुई जना पक्राउ परेका छन् भने तीन केजी एक सय ७० ग्राम अफिम बरामद गरिएको छ । एक महिनामा सात जना मानिस हराएकामा ६ जना फेला परेको र एक जनाको खोजी जारी रहेको बताइएको छ ।
प्रहरीमा तीन वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेकामा सबैमा मिलापत्र गराइएको छ । त्यस्तै ३२ वटा ठाडो उजुरी परेकामा सबै फस्र्यौट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा एक सय १८ वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट एक लाख तीन हजार राजस्व सङ्कलन भएको डिएसपी पौडेलको भनाई छ ।
एक सय ७३ वटा ट्राफिक सचेतना कार्यक्रमबाट १२ हजार आठ सय ६२ जना लाभान्वित समेत भएको प्रहरीको तथ्याङ्क छ । जिल्लामा एक महिनामा १५ वटा विपद्का घटना भएका छन् । विपद्मा परी कसैको पनि ज्यान गएको छैन भने चट्याङ लागेर दुई जना घाइते भएका छन् । १४ घर भत्किएका छन्, जोखिममा रहेका ६ परिवारका २७ जनालाई आफन्तकोमा स्थानान्तरण गरिएको बताइएको छ ।
यही अवधिमा एक नाल अवैध भरुवा बन्दुक पनि बरामद गरिएको छ । समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत ४७ वटा कार्यक्रमबाट एक हजार पाँच सय ९५ जना तथा १३ वटा विद्यालय लक्षित कार्यक्रमबाट एक सय ४७ जना लाभान्वित भएका छन् ।
सीमान्तकृत, अल्पसङ्ख्यक र पिछडिएका वर्ग लक्षित एउटा कार्यक्रममा १५ जना र महिला हिंसा, जातीय छुवाछुत विरुद्ध जनचेतनामूलक ६ वटा कार्यक्रममा एक सय ५५ जना सहभागी बनेको डिएसपी पौडेलले जानकारी गराउनुभएको छ ।





-1759842583.jpg)