Kakhara सबैको खबर सम्पूर्ण खबर
ग्यासका लागि दिनभरि लाइन बसेर रित्तो हात फिर्ता 

रुकुम पश्चिममा खाना पकाउने एसपी ग्यासको अभाव थप चुलिँदै गएको छ । विशेष गरी जिल्ला सदरमुकाम मुसिकोटमा ग्यासको अभाव बढ्दो छ । जिल्लामा करिब डेढ महिना देखि उपभोक्ताहरू ग्यासका लागि लामो लाइनमा बसिरहेका छन् । हालसम्म लाइन बसेर ग्यास पाउने उपभोक्ताहरू अब भने रित्तो हात फर्किनुपर्ने अवस्थामा पुगेका छन् । शुक्रवार मुसिकोटमा भेरीको ग्यास आएको थियो । 

ग्यास आउने सूचनापछि बिहानैबाट उपभोक्ताहरू भेरी ग्यासको बिक्रेता प्रतीक्षा इन्टरप्राइजेजमा रित्तो सिलिन्डर सहित लाइनमा बसेका थिए । अपराह्नतिर ग्यास आइपुगेको थियो । तर सीमित मात्रामा ग्यास सिलिन्डर भएका कारण ग्यास नपाएर उपभोक्ताहरू साँझमा रित्तो हात घर फर्किएका छन् । उनीहरू रित्तो सिलिन्डर पसलमै छाडेर नाम लेखाएर फर्किएका छन् । 

सीमित मात्रामा ग्यास आएका कारण सबैलाई नपुगेको बिक्रेताको भनाई छ । २ सय बढी सिलिन्डर वितरण गरिएको तर उपभोक्ताको सङ्ख्या धेरै भएकोले सबैलाई नपुगेको बिक्रेता बताउँछन् । डेढ सय बढी उपभोक्ताले खाली सिलिन्डर छाडेर नाम लेखाएर फर्किएको बताइएको छ । दिनभरि लाइन लाग्दा पनि ग्यास पाउन नसक्दा उपभोक्ताहरू खिन्न बनेर फर्किए । दिनभरि कुर्दा पनि ग्यास पाउन नसकेपछि उपभोक्ताहरूले दुःख समेत भोगे । 

जिल्लामा पछिल्लो समय ग्यासको अभाव थप चर्किँदो छ । माग अनुसार ग्यासको आपूर्ति हुन नसकेको र उपभोक्ताले एकै पटक ग्यास खरिद गर्न खोज्दा समस्या बढिरहेको ग्यास बिक्रेताहरूको भनाई छ । जिल्लामा भेरी र राप्ती कम्पनीको ग्यास आइरहेको छ । राप्तीको ग्यास केही दिन देखि आएको छैन । भारतबाटै ग्यास नआएका कारण डिलरले जिल्लामा ग्यास नपठाएको बिक्रेताको भनाई छ । भेरीको ग्यास आए पनि कम मात्रामा आउँदा माग धान्न मुस्किल भएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update