Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दोस्रो अधिवेशन सुरु 

रुकुम पश्चिमको मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशन सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा अवस्थित संस्थाको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नुभयो । 

संस्थाका अध्यक्ष टोपबहादुर नेपालीको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख गौतमले रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा खानेपानी वितरणलाई थप व्यवस्थित बनाउन संस्थालाई अनुरोध गर्नुभयो । मुसिकोटमा खानेपानीका मुहानको अभाव नभई व्यवस्थापनमा समस्या रहेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । 

तत्कालीन भन्दा दीर्घकालीन व्यवस्थापनमा ध्यान दिएर भोलीका सन्ततिलाई समेत पर्याप्त पानी हस्तान्तरण गर्ने गरी योजना बनाएर संस्थाले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुसिकोटमा रहेका खानेपानीका मुहानको संरक्षण र व्यवस्थित खानेपानी वितरण भए मात्र पनि मुसिकोटमा पर्याप्त खानेपानी पुग्ने उहाँको भनाई छ । 

जिल्ला सदरमुकाम समेत रहेको मुसिकोटमा जनघनत्व बढी रहेको र जिल्लाको प्रशासनिक केन्द्र रहेकोले यहाँ धेरै मानिसहरूको आवागमन हुनुका साथै बढी मात्रामा खानेपानीको आवश्यकता रहेकोले यसलाई मध्यनजर काम गर्न संस्थालाई आग्रह गर्नुका साथै यस तर्फ नयाँ निर्वाचित हुने नेतृत्वले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । 

मुसिकोट नगरपालिकाका प्रमुख तथा संस्थाका संस्थापक अध्यक्ष महेन्द्र केसीले थोरै ग्राहकबाट बडो मुस्किलले सुरु भएको यो संस्था हाल सबैको प्रयासमा बृहत् बनेको बताउनुभयो । आफू स्थापना काल देखि नै यो संस्थालाई कसरी विकास गर्ने भनेर लागि परेको र मुसिकोट नगरपालिकामा निर्वाचित भएपछि पनि संस्थाको विकासका लागि पहल गरिरहेको, बजेट तथा नीतिगत व्यवस्था समेत गरेको उहाँले बताउनुभयो । 

सुधारका लागि सम्पूर्ण मुसिकोटवासी तथा सरोकारवालाको पहल आवश्यक रहेको भन्दै उहाँले मुसिकोटमा २४ सै घण्टा पानी वितरण गर्न सम्भव रहेको समेत बताउनुभयो । यसका लागि योजना बनाएरै काम गर्न उहाँले संस्थालाई अनुरोध गर्नुभयो । मुसिकोटमा रहेका मुहानको संरक्षण तथा प्रयोगका लागि समेत योजना बनाएर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले मानव जीवनको सबैभन्दा महत्पूर्ण खानेपानी क्षेत्रलाई राज्यले नै उपेक्षा गरेको गुनासो गर्नुभयो । अन्य सबै क्षेत्रका लागि सरकारले बजेट व्यवस्थापन गरे पनि खानेपानी सधैँ उपेक्षामा रहेको भन्दै उहाँले सरकारले खानेपानीका लागि पर्याप्त बजेट तथा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले खानेपानीको सहज व्यवस्थापन सहित सरसफाइका लागि समेत काम गर्न संस्थालाई अनुरोध गर्नुभयो । खलङ्गा बजारमा अव्यवस्थित खानेपानीका लाइनका कारण समस्या भइरहेको भन्दै उहाँले यसतर्फ ध्यान दिन पनि संस्थालाई आग्रह गर्नुभएको छ । दैनिक कार्य योजना सहित दीर्घकालीन योजना सहित संस्था अघि बढेमा खानेपानी व्यवस्थापनमा थप सहजता आउने उहाँको विश्वास छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवालाहरूले खानेपानीको समान वितरण हुनुपर्ने, नियमित खानेपानी वितरणका लागि संस्थाले ध्यान दिनुपर्ने, महँगो हुन नहुने, संस्थाको पारदर्शितामा ध्यान दिनुपर्ने जस्ता सुझाव दिएका थिए । 

उद्घाटन समारोहमा अध्यक्ष टोपबहादुर नेपाली र सचिव महेन्द्र गौतमले संस्थागत तथा कोषाध्यक्ष कर्णबहादुर ओलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस संस्थाबाट हाल मुसिकोटमा ११ सय ५२ धार वितरण गरिएको संस्थाले जनाएको छ । जसमा व्यक्तिगत धारा ११ सय चार वटा र ४८ वटा संस्थागत धारा रहेका छन् । 

संस्थाको ऋण पाँच करोड ५३ लाख ५४ हजार तीन सय २५ रुपैयाँ रहेको संस्थाले जनाएको छ । उक्त ऋण नगर विकास कोषबाट संस्थागत रूपमा ल्याएर मुसिकोटमा खानेपानी वितरण गरिएको हो । यो ऋण स्थापना काल देखि हालसम्मको रहेको र संस्थाले वार्षिक रूपमा ऋण तिरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

संस्थाका सचिव महेन्द्र गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार महेश केसीले जानकारी दिनुभयो । संस्थाको साधारण सभा तथा अधिवेशनका अवसरमा संस्थाका २ जना कर्मचारी र नियमित महसुल बुझाउने एक जना ग्राहकलाई सम्मान समेत गरिएको छ । साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने बताइएकाे छ । 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update