Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा इभी गाडीको ठक्करबाट आमा छोरीको मृत्यु 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा इभी गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । आइतबार आज सानीभेरी गाउँपालिका वडा नम्बर ८ एकान्त स्थित मध्य पहाडी लोक मार्गमा सिम्लीबाट चौरजहारी तर्फ गइरहेको इभी गाडीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सार घर भई हाल लक्ष्मी सनराई बैङ्क मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी श्रीमती २६ बर्सिया स्वस्तिका पौडेल र उहाँकी छोरी २ बर्सिया शान्दिका ज्ञावली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते आमा छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकामा उपचारको क्रममा आज बिहान ९ः३० बजे डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार आमा छोरी क.प्र.०२००१ ख १०७० नम्बरको फोर्स गाडीमा मुसिकोट खलंगा बाट सुर्खेत जाँदै हुनुहुन्थ्यो । 

छोरीलाई शौचालय लागेपछि सानीभेरी ८ मा गाडी रोकी शौचालय लैजानका लागि गाडीबाट झरेर बाटो काटेर जाँदै गरेको अवस्थामा सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको सानीभेरी गाउँपालिका ३ चौखेका २२ वर्षीय अम्मर वि.क.ले चलाएको भे.१ज.१४८२ नं.को ईभी गाडीले आमा छोरी दुवैलाई ठक्कर दिएको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो । 

चालक विकलाई नियन्त्रणमा लिइएको र इभी गाडी घटनास्थलमै रहेको उहाँले बताउनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ट्राफिक सहित ११ जना र इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमान्डमा १३ जनाको टोली खटिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update