रुकुम पश्चिममा बालमैत्री स्थानीय शासन घोषणाको प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला स्तरीय अनुगमन समिति गठन गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ बमोजिम जिल्लाका वडा, गाउँपालिका तथा नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक सहजीकरण, समन्वय तथा अनुगमन गर्ने उद्देश्यले समिति गठन गरिएको हो । आज जिल्ला समन्वय समितिको कार्यालयमा एक कार्यक्रको आयोजना गरी अनुगमन समिति गठन गरिएको हो । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ ले स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति निर्माण तथा निर्णय प्रक्रियामा बालबालिका र सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै बालमैत्री शासन पद्धति स्थापित गर्ने उद्देश्य राखेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओली, जिल्ला प्रहरी कार्यालयका अधिकृत प्रतिनिधि प्रहरी निरीक्षक हेमन्त गिरी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख माधवी पुन, स्वास्थ्य कार्यालयका अधिकृत प्रतिनिधि हरि पुन सदस्य रहनुभएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका प्रतिनिधि बलेन्द्र ओली, उद्योग वाणिज्य संघका प्रतिनिधि हिमानी बस्याल, बाल क्लब सञ्जालका प्रतिनिधि अनु सिंह र ज्ञानबहादुर विक सदस्य रहनुभएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमका जीवनकुमार खड्कालाई सदस्य–सचिव तोकिएको छ । समितिले जिल्लाभित्रका वडा, गाउँपालिका तथा नगरपालिकाले बालमैत्री स्थानीय शासनका निर्धारित सूचक पूरा गरे÷नगरेको अनुगमन गर्नेछ । साथै स्थानीय तहलाई बालमैत्री शासन अवलम्बन गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने र सूचक पूरा गरेका स्थानीय तहलाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सिफारिस गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ ।
त्यस्तैगरी जिल्लाभित्रका स्थानीय तहसँग संवाद तथा समन्वय गरी बालमैत्री शासनतर्फ आवश्यक काम अघि बढाउने र समितिको आवश्यकता अनुसार नियमित बैठक बस्ने व्यवस्था गरिएको छ । साथै बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियामा स्वास्थ्य, शिक्षा, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, सरसफाइ तथा सुरक्षित वातावरणलगायतका विभिन्न सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको सदस्य सचिव जिववकुमार खड्काले बताउनुभयो ।





-1759842583.jpg)