Kakhara सबैको खबर सम्पूर्ण खबर
सगरमाथा वृक्षारोपण महाअभियानः रुकुम पश्चिममा १२ हजार बढी बिरुवा रोपियो 

रुकुम पश्चिममा असार १४ गते देखि हालसम्म १२ हजार बढी बिरुवा रोपिएको छ । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत डिभिजन वन कार्यालय मार्फत जिल्लाका विभिन्न ठाउँमा गरेर १२ हजार तीन सय ३६ वटा विभिन्न प्रजातिका विरुवा रोपिएको हो । यसमा सव डिभिजनहरुको समेत भूमिका रहेको थियो । 

यो अभियान गत असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य गोपाल शर्माको प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख लम्बिनी गौतम, उपप्रमुख देवबहादुर विक, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा सानीभेरी गाउँपालिका ७ फुक्रुस्थित नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर सुरु भएको थियो । 

असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस देखि भाद्र ४ गते कर्णाली प्रदेश स्थापना दिवससम्म सामुदायिक वन क्षेत्र, नदी उकास क्षेत्र, निजी जग्गा, सामुदायिक विद्यालय, सरकारी कार्यालय, मन्दिर, पार्क गरी ४३ स्थानमा संरक्षणको सुनिश्चितता सहित काष्ठ, जडीबुटी, धार्मिक र सौन्दर्यमूलक विभिन्न प्रजातिका १२ हजार तीन ३६ वटा विरुवाहरु रोपिएको डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

1-1787568043.jpeg
उहाँका अनुसार मुसिकोट नगरपालिका अन्तर्गतका दुई वटा सामुदायिक वन र त्रिवेणी गाउँपालिका अन्तर्गतका तीन वटा सामुदायिक वन गरी पाँच वटा सामुदायिक वनको १३ हेक्टर खाली तथा नाङ्गो क्षेत्रमा देवदार, टिमुर, तेजपात लगायतका काष्ठ तथा जडिबुटी प्रजातिका आठ हजार एक सय वटा विरुवा रोपिएको छ । 

त्यस्तै सानोभेरी गाउँपालिका वडा नम्बर ७, फुक्रु स्थित २.४ हेक्टर नदी उकास जग्गामा सिसौ र खयर प्रजातिका १५०० वटा विरुवा रोपिएको छ भने बाँफिकोट गाउँपालिका वडा नम्बर ७ बाँस्थला स्थित ३.८५ हेक्टर निजी जग्गामा एक हजार पाँच सय ४० वटा टिमुर रोपिएको उहाँको भनाई छ । 

सामुदायिक विद्यालय, सरकारी कार्यालय, मन्दिर, पार्क लगायतका ३५ वटा सार्वजनिक स्थलहरुमा कपुर, कल्कीफूल, वीरेन्द्रफूल, गुलमोहर, पारिजात, छतिवन, मयुरपंखी लगायतका एक हजार एक सय ९६ प्रजातिका सौन्दर्मूलक प्रजातिका विरुवाहरु समेत रोपिएको डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी गराउनुभयो । 

3-1787568043.jpeg
जिल्लामा यस अभियान अन्तर्गत १५ हजार विरुवा रोप्ने लक्ष राखिएको थियो । अभियान अन्तर्गत अझै पनि वृक्षारोपण भइरहेकोले लक्ष पूरा हुने उहाँले बताउनुभयो । माग तथा आवश्यकताका आधारमा वृक्षारोपण गरिएको उहाँको भनाई छ ।

उहाँका अनुसार नेपाललाई हरियाली बनाउँदै जलवायु परिवर्तन, कार्बन उत्सर्जन, हिमालय संरक्षण र वातावरणीय संतुलन कायम गर्ने लक्ष्य रहेको सगरमाथा वृक्षारोपण महाअभियान सन् २०२५ देखि सुरु गरिएको २० वर्षे (२०२५–२०४५) दीर्घकालीन राष्ट्रिय अभियान हो । 

2-1787568044.jpeg
सरकारले हरेक वर्ष ३ करोड विरुवा गरी यस अभियानको अवधिमा ६० करोड विरुवा रोप्ने लक्ष राखेको छ । हरियाली प्रवद्र्धन गरी वन क्षेत्र विस्तार गर्नु, जैविक विविधताको संरक्षण गर्नु, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नु र नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update