जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र इलाका प्रशासन कार्यालय चौरजहारीबाट साउन महिनामा झन्डै २४ सय जनाले सेवा लिएका छन् । दुवै कार्यालयबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा दुई हजार तीन सय ७७ जनाले लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले दैनिक तथा मासिक रूपमा सेवा प्रवाहको विवरण सार्वजनिक गर्ने गरेको छ । कार्यालयले सार्वजनिक गरेको साउन महिनाको विवरण अनुसार नयाँ नागरिकता भन्दा नागरिकताको प्रतिलिपि लिनेहरूको सङ्ख्या बढी देखिएको छ ।
यो आर्थिक वर्षको पहिलो महिना दुई सय ५६ जनाले नयाँ नागरिकता लिएका छन् । एक सय १२ पुरुष र एक सय ४४ महिला गरी दुई सय ५६ जनाले नयाँ नागरिकता लिएका हुन् । तर यही अवधिमा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या नयाँ नागरिकता लिने भन्दा उल्लेख्य छ ।
एक महिनामा मात्र तीन सय ६७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । नागरिकता ऐन र नियमावली अनुसार नागरिकता हराएमा, च्यातिएमा वा पुरानो भई नबुझिने भएमा, विवाह वा सम्बन्ध विच्छेद भएमा, बसाइसराइ गरेमा तथा विवरण र थर संशोधन गर्नुपरेमा नागरिकताको प्रतिलिपि लिन पाइने व्यवस्था छ ।
त्यस्तै यो अवधिमा एक सय ९९ वटा नयाँ राहदानी सम्बन्धी सेवा प्रवाह भएको छ भने २ सय ६४ वटा बनेका राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको मासिक कार्य विवरणमा उल्लेख छ । यस अवधिमा सबैभन्दा बढी सेवा राष्ट्रिय परिचय पत्र सम्बन्धी प्रवाह भएको छ ।
एक महिनामा एक हजार पाँच सय ५५ जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण भरेका छन् । त्यस्तै एक सय ८७ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।





-1759842583.jpg)