रुकुम पश्चिममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको अध्यक्षतामा जिल्ला समितिको बैठक बसी दिवस मनाउने निर्णय भएको हो ।
बैठकले “प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता“ भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस भाद्र २० गते जिल्ला प्रशासन कार्यालयको सभा हलमा सरोकारवाला निकायहरू बिच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यस्तै विद्यालय, क्याम्पस, युवा क्लबहरूमा मानव बेचबिखन सम्बन्धी सचेतनामूलक कार्यक्रम स्थानीय तहको समन्वयमा जिल्ला प्रहरी कार्यालय, मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा काम गर्ने सङ्घ/संस्थाले सञ्चालन गर्ने निर्णय भएको छ ।
दिवसको अवसरमा स्थानीय रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतनामूलक सन्देश तथा सूचना प्रसारण÷प्रकाशन गर्न सञ्चार माध्यमलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गौतम सहित जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सुमित्रा केसी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष व्युझना पुन देवकोटा र अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष हिमकुमारी केसीको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)