रुकुम पश्चिमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा दिगो जीविकोपार्जन, सामुदायिक उत्थानशीलता तथा विकास परियोजना लागु भएको छ । कम्नेन्ट वर्ल्ड रिलिफ एन्ड डेभलभमेन्ट (सिडब्लुआरडी–यूसए) आर्थिक सहयोगमा नेपाल ख्रीष्टियन राहत सेवा (एनसीआरएस) मार्फत लागू भएको हो ।
विपन्न, जोखिममा रहेका तथा सीमान्तकृत समुदायहरूको दिगो जीविकोपार्जन, आत्मनिर्भरता र सामुदायिक उत्थानशीलता अभिवृद्धि गर्दै उनीहरूको सामाजिक तथा आर्थिक जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले परियोजनाको लागू भएको नेपाल ख्रीष्टियन राहत सेवाले जानकारी गराएको छ ।
यसका लागि परियोजना मार्फत सीप तथा रोजगारी, दिगो कृषि, उद्यमशीलता, महिला सशक्तीकरण, विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्यका क्षेत्रमा समुदायको क्षमता, पहुँच र अवसर अभिवृद्धि गरिने परियोजना अधिकृत मदन बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो परियोजना २०८५/०८६ सम्म सञ्चालन हुने छ । मङ्गलवार एकै दिन दुवै पालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी परियोजनाको शुभारम्भ गरिएको उहाँको भनाई छ । त्रिवेणी गाउँपालिका सभा हल, खारानेटामा एक कार्यक्रमको आयोजना गरी त्रिवेणीमा परियोजना शुभारम्भ भएको छ ।
नेपाल ख्रीष्टियन राहत सेवाका उपाध्यक्ष दिलबहादुर थापाको अध्यक्षता तथा त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको प्रमुख आतिथ्य र प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धनबहादुर खड्का सहित वडा सदस्य तथा वडा सचिव, स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुन, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, गैरसरकारी संस्था महासंघका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्यम विकास शाखाका प्रतिनिधि, सीएमसी नेपालका मनोसामाजिक अधिकृतलगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
संस्थाका सचिव अनुभव शर्मा लगायत संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रोमी केसीले स्वागत मन्तव्यसहित संस्थाको परिचय तथा परियोजनाको औचित्यबारे जानकारी गराउनुभएको थियो । परियोजनाका बारेमा विस्तृत जानकारी परियोजना अधिकृत मदन बुढाले प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सन्देश रोकाले गर्नुभएको थियो ।
यता मुसिकोट नगरपालिकामा वडा नम्बर १४ को स्वास्थ्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरी परियोजनाको शुभारम्भ गरिएको हो ।
संस्थाका उपाध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख तथा नगरपालिकाका वरिष्ठ शाखा अधिकृत कुबेर केसीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष गोवर्द्धन ओली, जनप्रतिनिधि, रेडक्रस सोसाइटीका जिल्ला सभापति बलवीर पुन, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
संस्थाका सचिव अनुभव शर्मा तथा कोषाध्यक्ष मुकुन्दकुमार शर्मा लगायत संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । संस्थाका कार्यकारी निर्देशक रोमी केसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा परियोजनाका बारेमा परियोजना अधिकृत मदन बुढाले जानकारी गराउनुभएको थियो ।





-1759842583.jpg)