Kakhara सबैको खबर सम्पूर्ण खबर
यी हुन भोटेकोसी बाढीमा वेपत्ता रुकुम पश्चिमका ११ जना  

बुधवार भोटेकोसीमा गएको आएको बाढीपछि रुकुम पश्चिमका कम्तिमा ११ जना वेपत्ता छन् । सरकारी जागिर तथा विभिन्न कामका लागि रसुवामा रहेका कम्तिमा ११ व्यक्ति सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विवरण तयार पारेको छ । 

केही सम्पर्कमा आइरहेका छन् । अहिलेसम्म सम्पर्कमा नरहनेमा आठबिसकोट नगरपालिका ७ का खम्बु बोहरा, उहाँकी श्रीमती कोपिला केसी बोहरा र उहाँहरुकी १ वर्षकी नाबालिग छोरी रहनुभएको छ । श्रीमान् श्रीमती स्वास्थ्यकर्मी हुनुहुन्छ । 

मुसिकोट नगरपालिका २ का हरिबहादुर खड्का पनि सम्पर्क विहीन हुनुहुन्छ । उहाँ भन्सार कार्यालयमा नायव सुब्बाका रूपमा कार्यरत हुनुहुन्थ्यो । हाइड्रो कम्पनीमा कार्यरत आठबिसकोट नगरपालिका ८ का चित्रबहादुर घर्ती, कामदार चौरजहारी नगरपालिका १३ का रामबहादुर विष्ट पनि सम्पर्क विहीन रहेको प्रशासनले जनाएको छ । 

सानीभेरी ७ घर भई हाल बर्दियामा बस्दै आएका लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी, र दिलकुमारी घर्ती समेत सम्पर्क विहीन हुनुहुन्छ । उहाँहरू भन्सार कार्यालयमा समान लोड अनलोडको काम गर्नुहुन्थ्यो । त्यस्तै आफन्तसंग भेटघाटको लागि जानुभएकी चौरजहारी १ की सीमा बुढाथोकी पनि हालसम्म वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

सम्पर्क विहीन बन्नुभएका मुसिकोट १ का अब्दुल भुवन केसी, करवीर गैरे, भावना केसी लगायत भने सम्पर्कमा आउनुभएको छ । उहाँहरूको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ । 

सम्पर्क विहीनहरूको खोजी तीव्र पारिएको छ । स्थानीय प्रशासनबाट आवश्यक समन्वय सहित विभिन्न ठाउँमा कार्यरत जिल्लाका निजामती कर्मचारी तथा अन्य सरोकारवालाहरूले खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्नुका साथै केही भौतिक रूपमा खटिएका समेत छन् ।

वेपत्ताहरुकाे विवरण, स्राेत जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम ।

bepatta-(2)-1787832938.jpeg

bepatta-(1)-1787832937.jpeg

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update