रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिरोले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । वडा नम्बर १० सल्लाघारीका अन्दाजी ५० वर्षीय धनबहादुर ओलीको पहिरोले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
पैदल हिँडिरहेका ओलीलाई पहिरोले बगाएर सडकबाट डेढ सय मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बेलुकी ६ बजेको समयमा त्रिवेणी गाउँपालिका १० भैराथान स्थित बैरागीठाँटी, नुवाकोट हुँदै चौरजहारी जोड्ने भित्री पक्की सडक खण्डमा सडक माथिबाट एक्कासि पहिरो आई पैदल यात्री ओलीलाई बगाएको थियो ।
शरीरको आधा भाग पहिरोमा पुरिएको अवस्थामा रहेको भनी स्थानीयले पौने ७ बजेतिर प्रहरी चौकी सोलावाङमा खबर प्राप्त हुनसाथ तत्काल घटनास्थलमा प्रहरी सहायक निरीक्षक हरिलाल सेजुवालको कमान्डमा ५ जनाको टोली जेसीबि मेसिन लिएर खटिएको थियो ।
पहिरोका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ९ जनाको टोली समेत खटिएको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो ।





-1759842583.jpg)