रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति रुकुमेली वाङ्मय अधिष्ठान, काठमाडौंले गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । अधिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण रसुवा, गोर्खा, नुवाकोट, धादिङ, चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो । पछिल्लो बाढीले घर, व्यवसाय, पुल, सडक, सार्वजनिक तथा निजी संरचना र जीविकोपार्जनका आधारसमेत नष्ट गरेको उल्लेख गरिएको छ ।
अधिष्ठानले बाढीमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै घरबार, व्यवसाय तथा धनसम्पत्ति गुमाएर कठिन परिस्थितिमा पुगेका परिवारप्रति सहानुभूति प्रकट गरेको छ । विपद्को समयमा सरकारका सम्पूर्ण निकाय, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनामा एकजुट हुन अधिष्ठानले आह्वान गरेको छ ।
प्रेस विज्ञप्तिमार्फत अधिष्ठानले सम्पर्कविहीन तथा हराइरहेका नागरिकको खोजीलाई सर्वोच्च प्राथमिकता दिन, घाइते तथा विस्थापितको तत्काल व्यवस्थापन गर्न, पीडितको बाँकी सम्पत्तिको संरक्षण गर्न र अफवाह तथा अपुष्ट सूचना फैलिन नदिन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । त्यस्तै, विपद्का बेला दोषारोपण र राजनीतिक आरोप–प्रत्यारोपभन्दा मानव जीवनको रक्षा, उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै घटनापछि मात्र कारण, पूर्वतयारी, कमजोरी र जिम्मेवारीबारे आवश्यक समीक्षा तथा बहस गर्नुपर्ने अधिष्ठानको भनाइ छ ।
बाढी प्रभावित बस्ती, सडक, पुल, विद्युत्, सञ्चार, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा जीविकोपार्जनका आधार पुनर्निर्माणका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि अधिष्ठानले सरकारसँग आग्रह गरेको छ । अधिष्ठानका अध्यक्ष भूपेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा विपद्का बेला प्रभावित नागरिकको पीडासँग आफ्नो पीडा जोड्दै उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा आ–आफ्नो क्षमताअनुसार सहभागी हुन सम्पूर्ण देशवासीलाई आह्वान गरिएको छ ।





-1759842583.jpg)