Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम र पूर्वका ५० बढी भोटेकोसी बाढीबाट समस्यामा छनः रुकुमेली सेवा समाज 

बुधवार भोटेकोसी नदीमा आएको बाढीमा रुकुम पश्चिम र पूर्वका पनि कयौँ व्यक्तिहरू परेका छन् । केहीको अवस्था अझै अज्ञात छ भने केही तत्काल उद्धारको अवस्थामा रहेका छन् । 

उक्त बाढीमा २ जिल्लाका ५० बढी तत्काल उद्धार तथा मानवीय सहयोगको पर्खाइमा रहेको रुकुमेली सेवा समाजले जनाएको छ । रुकुमेली सेवा समाजले भोटेकोसी बाढीमा समस्यामा परेका रुकुमेलीहरुको अवस्था पहिचान, उद्धार तथा मानवीय सहयोगका लागि समन्वय गरिरहेको छ । 

रुकुम पश्चिम र रुकुम पूर्वकाे साझा मञ्चका रुपमा २ महिना अघि स्थापना भएकाे रुकुमेली सेवा समाज बाढी लगत्तै सक्रिय बनेको थियाे । यसले बाढीमा फसेका जिल्लावासीको अवस्था पहिचान, खोजी, उद्धार तथा तत्काल मानवीय सहयोगका लागि निरन्तर सहयोग गर्दै आइरहेको छ । 

उसले ठुलो सङ्ख्यामा जिल्लावासी समस्यामा रहेको भन्दै यो विषय परिस्थितिमा तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा मानवीय सहयोग आवश्यक रहेको बताएको छ । त्यसैले मानवीय कार्यमा आ-आफ्नो क्षमता अनुसार स्वतःस्फूर्त रूपमा सहयोग, समन्वय र सहकार्य गर्न सम्पूर्ण रुकुमेलीहरुमा अनुरोध समेत गरेको छ । 

विपद्को यस घडीमा सानो सहयोगले पनि कसैको जीवन जोगाउन र पीडामा रहेका नागरिकहरूलाई ठुलो राहत पुर्‍याउन सकिने भन्दै सकेको सहयोगका लागि अनुरोध गरेको हो । रुकुमेली सेवा समाज लाेकेन्द्र खनाल, दिनेश खड्का, धनवीर दाहाल लगायतकाे पहलमा स्थापना भएकाे हाे । समाजमा अहिले ६ सय बढी रुकुमेलीहरु जाेडिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update