रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा खानेपानी वितरण गरिरहेको खानेपानी संस्था ठुलो ऋणमा रहेको पाइएको छ । साढे ११ सय उपभोक्ता रहेको यो संस्था साढे पाँच करोड ऋणमा रहेको छ ।
संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशनमा संस्थाका निवर्तमान कोषाध्यक्ष कर्ण ओलीले पेस गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाको ऋण पाँच करोड ५३ लाख ५४ हजार तीन सय २५ रुपैयाँ रहेको छ ।
उक्त ऋण संस्थाले नगर विकास कोषबाट लिएको हो । यो ऋण संस्था स्थापनाकालदेखि हालसम्मको रहेको संस्थाका अध्यक्ष महेन्द्रराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुल ऋणमा साँवा ४ करोड ५४ लाख ९३ हजार २२ रुपैयाँ रहेको छ भने ब्याज ९८ लाख ६१ हजार तीन सय तीन रुपैयाँ रहेको छ । सुरुमा ऋण लिएर संस्थाको विकास गरिएको उहाँले बताउनुभयो ।
संस्थाले ऋण तिरिसमेत रहेको छ । बितेका तीन आर्थिक वर्षमा ४८ लाख ऋण भुक्तान गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा २६ लाख र आर्थिक वर्ष २०८१/०८२ मा १० लाख नगर विकास कोषमा भुक्तान गरेको संस्थाले बितेको आर्थिक वर्ष २०८२/०८३ मा १२ लाख भुक्तान गरेको अध्यक्ष गौतमले जानकारी गराउनुभयो ।
संस्थाको आम्दानीबाट ऋण घटाउँदै गएको उहाँले बताउनुभयो । संस्थाले सुरुमै ऋण लिएर आवश्यक संरचनाहरू निर्माण गरेको र खानेपानी वितरण सुरु गरेको बताइएको छ ।
साथै संस्थाले तीन वर्षमा सरकारी अनुदान बाहेक नगर विकास कोषबाट ऋण बापत २५ प्रतिशत अर्थात् २३ लाख २९ हजार ७२ रुपैयाँ खर्च गरेको छ भने संस्थाबाट पाँच प्रतिशत अर्थात् ४ लाख ९५ लाख नौ सय ४२ रुपैयाँ खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको नाममा ठुलो ऋण रहेकोले संस्था सञ्चालनमा समस्या भइरहेकोले यसमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले ध्यान दिनुपर्ने संस्था बताउँछ ।
भइपरी आउने समस्या देखि नियमित खानेपानी वितरणमा कर्मचारीको व्यवस्थापन गर्न तथा थप कर्मचारीको समेत आवश्यकता रहेको भन्दै संस्थाले यसका लागि संस्थालाई थप पुँजीको आवश्यकता रहेको बताएको छ ।
संस्थाका हाल व्यक्तिगत र संस्थागत गरी ११ सय ५२ उपभोक्ता रहेका छन् । जसमा व्यक्तिगत ११ सय चार र ४७ संस्थागत उपभोक्ता रहेका छन् । जसबाट संस्थाले मासिक महसुल उठाउने गरेको छ ।
यसैबाट संस्थागत विकास, मर्मत सम्भार तथा नयाँ सेवा विस्तार र ऋण तिर्ने काम भइरहेको संस्थाको भनाई छ ।
न्यूनतम महसुल तिर्ने उपभोक्ता सात सय २३, ६–१० युनिटसम्म खानेपानी खपत गर्ने एक सय ८९, ११–२० युनिटसम्म खपत गर्ने एक सय ९३ र २१ युनिट भन्दा माथि खानेपानी खपत गर्ने ४७ उपभोक्ता रहेका छन् ।
व्यक्तिगत तर्फ न्यूनतम पानी खपत गर्ने उपभोक्ताबाट एक सय ७५ रुपैयाँ तथा संस्थागत उपभोक्ताबाट तीन सय महसुल असुल भइरहेको छ ।
६ देखि १० युनिटसम्मको प्रति युनिट ४५ रुपैयाँ, ११ देखि २० युनिटसम्म प्रतियुनिट ६५ रुपैयाँ र २१ देखि माथि प्रति युनिट एक सय रुपैयाँ महसुल लिइरहेको संस्थाले जनाएको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)