Kakhara सबैको खबर सम्पूर्ण खबर
पुल नहुँदा त्रिवेणी ३ र ४ का स्थानीय जोखिम मोलेर खारेखोला वारपार गर्दै 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ जोड्ने कुल्सिवाङ जिउलास्थित खारेखोलामा पुल नहुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । उक्त खोलामा पुल नहुँदा त्यस ठाउँका स्थानीय वर्षौँ देखि जोखिम मोलेर खोला वारपार गर्ने गरेका छन् । 

हरेक वर्षको बर्खा याममा त्यस क्षेत्रका स्थानीयले खोला तर्न ठुलो जोखिम मोल्ने गरेको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बर्खामा खोला बढेर जोखिम बढी रहेको अवस्थामा पनि स्थानीय जोखिमपूर्ण रूपमा खोल तर्न बाध्य रहेका छन् । 

उक्त खोलामा झोलुङ्गे पुल निर्माणका लागि भन्दै २०८० सालमा गाउँपालिका र वडाको टोली आएर नाप जाँच गरे पनि हालसम्म उक्त योजना कहाँ पुग्यो भनेर आफूहरूलाई थाहा नभएको स्थानीयको भनाई छ । 

‘पुल बन्ने भयो भनेर हामी खुसी थियौँ, गाउँपालिका र वडा पालिकाबाट प्राविधिक सहितको टोली आएर नाप जाँच पनि गरेको हो, पुलका लागि प्रदेश र संघमा पहल गर्ने आश्वासन पनि आएको थियो, खड्काले भन्नुभयो–तर दुःखको कुरा अहिलेसम्म पुल निर्माणको योजना कहाँ गयो हामीलाई थाहा छैन ।’ 

यस विषयमा पटक पटक आवाज उठाउँदा पनि सम्बन्धित निकायबाट सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ । झोलुङ्गे पुल नभए पनि सानो लगानीमा ट्रस्ट लगायतको पुल निर्माण भए पनि स्थानीय निकै सहज हुने खड्काले बताउनुभयो । अहिलेसम्म ठुलो दुर्घटना नभए पनि कुन बेला के हुने हो भन्ने बारेमा कसैलाई थाहा नभएको उहाँले बताउनुभयो । 

वारपार गर्दा प्रत्येक पटक ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । बर्खामा सामान्यतया खोला ठुलो हुने र त्यसमा पनि वर्षा भयो भने खोला बढ्ने हुँदा खोला वार पार गर्न निकै नै सास्ती बेहोर्नुपर्ने बाध्यतामा दुई वडावासी रहेका छन् । 

स्थानीयले अहिले आफ्नै लगानीमा खोला वारपारका लागि काठको पुल निर्माण गरेका छन् । केही दिन अघि मात्र स्थानीयले मिलेर उत्तिसका काठ राखेर काठे पुल निर्माण गरेका छन् । तर उक्त पुल काम चलाऊ मात्र रहेको र जोखिमपूर्ण रहेको स्थानीयको भनाई छ । विशेष गरी बालबालिका र वृद्ध वृद्धाहरूलाई उक्त पुल मार्फत खोला तर्न बढी जोखिम रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update