Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकाेटका अगुवा कृषकलाई एकीकृत दिगो कृषि प्रणाली सम्बन्धी तालिम प्रदान

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकाका अगुवा कृषकहरूलाई दोस्रो चरणको एकीकृत दिगो कृषि प्रणाली (SIFS) सम्बन्धी पाँच दिने तालिम दिइएको छ । नागरिक समाज सबलीकरणमार्फत भूकम्प प्रभावित घरपरिवारहरूको खाद्य सुरक्षा तथा उत्थानशील जीविकोपार्जन (सस्टेन) परियोजना अन्तर्गत आठविसकोट नगरपालिका वडा नम्बर ३, ४, ५, १३ र १४ का कृषक समूहका अगुवा किसानहरूलाई एकीकृत दिगो कृषि प्रणाली (SIFS) सम्बन्धी पाँच दिने तालिम दिइएको हो । 

BMZ/WHH को आर्थिक तथा प्राविधिक सहयोग, RRN, FTGN र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC) नेपालको साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत मिक नेपालले तालिम आयोजना गरेको हो । जलवायु उत्थानशील तथा दिगो कृषि प्रणालीको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सुधार र स्थानीय स्तरमै किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । 

तालिममा जलवायु उत्थानशील कृषि अभ्यास, पोषण संवेदनशील कृषि तथा LANN+ का व्यावहारिक उपाय, एकीकृत रोग–कीरा व्यवस्थापन, गुणस्तरीय बीउ छनोट तथा व्यवस्थापन, साथै किसान सिकाइलाई प्रभावकारी रूपमा सहजीकरण गर्ने सहभागीमूलक तथा वयस्क सिकाइ विधिबारे अभ्यास गराइएको थियो । तालिममा एक दिनको प्रयोगात्मक फिल्ड कक्षा समेत सञ्चालन गरिएको थियो ।

तालिममा आठविसकोट नगरपालिका कृषि शाखाका प्रमुख गोपालकृष्ण साह, प्राविधिक सहायक अनिराज शाही, सस्टेन परियोजनाका संयोजक द्वय उदय के.सी. तथा नागेन्द्र प्रसाद भट्ट, जुनियर प्राविधिक अधिकृत विमला विष्ट मगर र श्रीकुमार बुढाले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा २१ वटा कृषक समूहका २० जना महिला र २ जना पुरुष अगुवा कृषक तथा ४ जना चेन्ज एजेन्ट गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन आठविसकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनकुमारी शाहीको प्रमुख आतिथ्यता र मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनको अध्यक्षतामा भएको थियो । भाद्र १० गतेबाट सुरु भएको तालिम आइतबार सकिएको हो । 

समापन कार्यक्रममा सहभागीका तर्फबाट छहरखोला कृषक समूहकी अगुवा कृषक बिपना विक  र बाँके जिउला कृषक समुहका अगुवा कृषक तिलक नारायण मल्लले तालिमबाट कृषि तथा पोषणका विभिन्न विषयमा व्यावहारिक ज्ञान र नयाँ दृष्टिकोण प्राप्त भएको बताउँदै सिकेका ज्ञान तथा सीपलाई आफ्ना समूहका अन्य किसानहरूसँग बाँड्ने तथा व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पोषण सहजकर्ता मोहन पुन मगरले सञ्चालन गरेको कार्यक्रममा साझेदार संस्था स्वच्छ व्यवसायी समूह नेपाल (FTGN) का परियोजना संयोजक नागेन्द्रप्रसाद भट्टले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई समुदाय स्तरमा प्रभावकारी रूपमा हस्तान्तरण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

तालिमले अगुवा किसानहरूलाई समुदाय स्तरमा ज्ञान, सीप र व्यवहार परिवर्तनका स्थानीय स्रोत व्यक्तिका रूपमा परिचालन गर्दै जलवायु उत्थानशील कृषि, दिगो खाद्य उत्पादन र परिवारको खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update