Kakhara सबैको खबर सम्पूर्ण खबर
बालविवाह न्यूनीकरणका लागि मुसिकोटमा सरोकारवालासँग दुई दिने कार्यशाला गोष्ठी

रुकुम पश्चिममा बालविवाह, किशोरावस्थामा हुने गर्भधारण तथा त्यसका कारण बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यशाला गोष्ठी  सुरु भएको छ । मुसीकोट नगरपालिकाको आयोजना तथा आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्रको समन्वयमा खलंगामा कार्यशाला गोष्ठी सुरु भएको हो । सोमबारबाट सुरु भएको कार्यशाला गोष्ठी भोलिसम्म चल्ने रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो  ।

62cf1b06-8e86-4f81-a7af-6d6e884e7e8e-1788171586.jpegगोष्ठीको सहजिकरण आइपास नेपालका कन्सल्टेन्ट जीवन देवकोटाले गर्नुभएको  थियो ।  गोष्ठीमा बालविवाह न्यूनीकरणका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायले खेल्नुपर्ने भूमिका, बालविवाहले समाजमा पारेको असर, न्यूनीकरण गर्न देखिएका चुनौती लगायतका विषयमा छलफल गरिएको थियो । त्यस्तै बालविवाह किशोरावस्थामा हुने गर्भधारण तथा त्यसका कारण बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने विषयमा समेत समुहगत छलफल गरी समस्या तथा सुझावमा छलफल गरिएको थियो । 

4a56c674-83ff-46a7-9ecb-481b12dea285-1788171587.jpegबालविवाह न्यूनीकरणका लागि नगरपालिका तथा विभिन्न सरोकारवाला निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता रहेको आइपास नेपालका कन्सल्टेन्ट देवकोटाले बताउनुभएको थियो । त्यस्तै बालविवाहका कारण किशोरावस्थामै गर्भधारण हुने, स्वास्थ्यमा जटिलता देखिने तथा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुने समस्या बढ्ने भएकाले यसको रोकथामका लागि प्रभावकारी पहल आवश्यक रहेको उहाँले बताउनुभयो । विशेषगरी महिला तथा किशोरीहरूको प्रजनन स्वास्थ्य र अधिकारका विषयमा नीतिगत तहदेखि समुदायस्तरसम्म काम गर्नुपर्नेमा उहाँको थियो । गोष्ठीमा बालविवाहसम्बन्धी अन्तर्राष्ट्रिय दृष्टिकोण, बालविवाहका सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी परिणाम, नेपालको संविधानले सुनिश्चित गरेका अधिकार तथा बालबालिकासम्बन्धी ऐनका व्यवस्थाबारे समेत  देवकोटाले जानकारी बनाउनुभएको थियो ।

002168ee-37a0-4aed-990b-cb827cf2e8d7-1788171588.jpeg


बालविवाह अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै परिवार, समुदाय, विद्यालय, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरुको भनाइ रहेको थियो । बालविवाह, किशोरावस्थाको गर्भधारण र विद्यालय छोड्ने अवस्थालाई न्यूनीकरण गर्न स्थानीयस्तरमै योजनाबद्ध रूपमा जनचेतना, परामर्श तथा नीतिगत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । त्यस्तै बालविवाह न्यूनीकरणका लागि नीति निर्माण, क्षमता विकास तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिनुपर्ने सहभागिको भनाइ थियो ।

edffb139-f9ee-4f1f-a9ac-7cfb4050e55d-1788171590.jpeg
आइपास नेपालले रुकुमेली समाज विकास केन्द्रको सहकार्यमा  रुकुम पश्चिमका तीन स्थानीय तह मुसिकोट तथा चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा महिलाको यौन प्रजनन तथा स्वास्थ्य सम्बन्धी काम गरिरहेको छ । सानीभेरी गाउँपालिकामा यसअघि नै गोष्ठी सम्पन्न भइसकेको र अव चौरजहारीमा बाँकी रहेको आइपास नेपालले जनाएको छ । गोष्ठी कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसी, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयाल, मुसिकोट नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि, मुसिकोट नगरपालिकामा कार्यरत कर्मचारी, आइपास नेपालमा कार्यरत कर्मचारी, शिक्षक विद्यार्थी लगायतको सहयागिता रहेको थियो । कार्यक्रमको संचालन मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले गर्नुभएको थियो ।

bd418172-547c-4472-9804-15281ba8afdb-1788171589.jpeg

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update