Kakhara सबैको खबर सम्पूर्ण खबर
बालविवाह, किशोरावस्थाको गर्भधारण र विद्यालय छाड्ने अवस्थाबारे दुई दिने कार्यशाला सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बालविवाह, किशोरावस्थामा हुने गर्भधारण तथा विद्यालय छाड्ने अवस्था सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । हिजोबाट सुरु भएको कार्यशाला गोष्ठी आज सकिएको हो । नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मुसिकोट नगरपालिका १४ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि, शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

कार्यशालामा बालविवाह, किशोरावस्थामा हुने गर्भधारण तथा विद्यालय छाड्ने अवस्थाबिचको अन्तरसम्बन्ध, यसका कारण, चुनौती र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो । साथै उक्त समस्याहरू न्यूनीकरणका लागि आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रम तथा कार्य योजनासमेत तयार गरिएको छ । गोष्ठीको सहजीकरण आई पास नेपालका कार्यक्रम परामर्शदाता जीवन देवकोटाले गर्नुभएको थियो । 

784716801_122166371720805885_7440147619713204677_n-1788254998.jpg

बालविवाह, किशोरावस्थामा हुने गर्भधारण र विद्यालय छाड्ने समस्या एक अर्कासँग अन्तर सम्बन्धित विषय भएकाले यसको न्यूनीकरणका लागि सबै सरोकारवाला निकायको साझा प्रयास आवश्यक रहेको सहभागीहरूको जोड थियो । यसअघि सानीभेरी गाउँपालिकामा समेत उक्त विषयमा कार्यशाला सम्पन्न भइसकेको छ । बाँकी चौरजहारी नगरपालिकामा पनि कार्यशाला गोष्ठी सञ्चालन गरिने रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रियालले जानकारी दिनुभयो ।

बालविवाह, किशोरावस्थाको गर्भधारण र विद्यालय छाड्ने सङ्ख्या न्यूनीकरण गर्न सङ्घ संस्था, समुदाय, अभिभावक लगायत सबैले हातेमालोले गर्न आवश्यक रहेको नगर प्रमुख केसीले बताउनुभएको थियो । यसमा मुसिकोट नगरपालिका लागिरहेको र सङ्घसंस्था, समुदाय तथा बालबालिकाका अभिभावकले पनि यसमा गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

2527a5cd-e97c-4063-86b1-796af5fe36c4-1788254587.jpegबालविवाह न्यूनीकरण गर्न विभिन्न सङ्घसंस्था लागिरहेको र यसमा मुसिकोट नगरपालिका पनि सहयोग गर्न तयार रहेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताउनुभयो । स्थानीय तहमा बालविवाह न्यूनीकरण, किशोर किशोरीको स्वास्थ्य तथा शिक्षामा पहुँच वृद्धि गर्नुका साथै विद्यालय छाड्ने दर घटाउने उद्देश्ये परियोजना मार्फत काम गरिरहेको रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले जनाएको छ । मुसिकोट नगरपालिकाको आयोजना तथा आई पास र रुकुमेली समाज विकास केन्द्रको समन्वयमा कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update