रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा शिविरमा १८३ जनाले आँखाको परीक्षण तथा उपचार सेवा लिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ, सर्जिकल आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोग तथा सानीभेरी गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखा जाँच गरिएका १८३ जनामध्ये १९ जनामा मोतीबिन्दुको समस्या देखिएको सर्जिकल आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आँखासम्बन्धी समस्या पहिचान भएपछि आवश्यक उपचार तथा थप स्वास्थ्य सेवाका लागि सम्बन्धित बिरामीलाई परामर्शसमेत प्रदान गरिएको छ । मोतीबिन्दुको समस्या देखिएका बिरामीको असोज २ गते सर्जिकल आँखा उपचार केन्द्र सल्लेमा शल्यक्रिया गरिने उहाँको भनाइ छ । बिरामीलाई सहज र आधुनिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले कम्प्युटर प्रविधिबाट आँखाको शल्यक्रिया गरिने तथा नियमित शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने प्रमुख केसीले जानकारी दिनुभयो ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन शिविर आयोजना गरिएको सानीभेरी गाउँपालिकाले जनाएको छ । आँखाको नियमित परीक्षण नगर्दा सामान्य देखिएका समस्या समयमै पहिचान हुन नसक्ने भएकाले यस्ता स्वास्थ्य शिविरले नागरिकलाई आफ्नो आँखाको अवस्थाबारे जानकारी लिन तथा समयमै उपचार गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
शिविरमार्फत पहिचान भएका मोतीबिन्दुका बिरामीको समेत छुटसहित शल्यक्रियाको व्यवस्था गरिएकाले यसबाट आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको सेवाग्राहीले जनाएका छन् ।


-1788004022.jpeg)


-1759842583.jpg)