रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको तिल्चा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मङ्गलवार अपराह्न ४ बजेतिर वडा नम्बर ४ स्थित तिल्चा खोला तर्ने क्रममा मुसिकोट खलङ्गा देखी कुनाखेत हुँदै स्यार्पुताल जाँदै गरेको मोटरसाइकल सहित चालक र पछाडि बसेका व्यक्तिलाई बगाएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङका १८ वर्षीय प्रशान्त सन्यासी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
मोटरसाइकलमा पछाडि बसेका गोकुलगंगा गाउँपालिका रामेछापका १८ वर्षीय प्रवीण बस्नेत भने खोलाको बिचमा रहेको ढुङ्गामा अड्किएको र अस्थायी प्रहरी पोस्ट छिनखेतबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको उहाँले बताउनुभयो ।
सन्यासीले चलाएको रा.६ प.१६१८ नम्बरको मोटरसाइकल स्यार्पुतालबाट बगेर आएको तिल्चा खोलाले बगाएको उहाँको भनाई छ । बेपत्ता सन्यासीको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
उद्धार तथा खोज तलासका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा १३ जनाको टोली र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर विकको कमान्डमा ४ जनाको टोली समेत खटिएको छ ।
उक्त स्थानमा वर्खालागेसंगै जोखिम मोलेर यातायातका साधन वारपार गर्ने गरेका थिए । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि पुल सञ्चालन नभइसकेकोले यो वर्ष समेत बर्खामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
यस खोलामा पुल नभएका कारण बर्सेनि साना सवारी साधन तथा विशेष गरी मोटरसाइकल वारपार गर्न निकै नै जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)