सहिद गणेश शाहको ३२ औँ स्मृति दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको छ । आज बिहान चौरजहारी अस्पतालमा उपचाररत एक सय जना बिरामीहरूलाई जुस वितरण गरिएको हो ।
नेपाली काँग्रेसका जिल्ला उप सभापति हर्कसिंह खत्री, महासमिति सदस्य नन्दु विष्ट, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख का सभापति भद्रबहादुर विष्ट, शाहका कान्छा छोरा सुधीर शाह लगायतको उपस्थिति रहेको थियो । चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीको समन्वयमा जुस वितरण गरिएको विष्टले जानकारी दिनुभयो ।
त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर १० को चिन्नेबगरमा रहेको नगर अस्पतालमा फलफूल वितरण गरिएको छ । अस्पतालमा उपचाररत १४ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको महासमिति सदस्य विष्टले जानकारी दिनुभयो । स्मृति दिवसको आज खोलागाउँमा हाजिर जवाफ प्रतियोगिता र स्मृति सभा आयोजना गरिएको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
नेपाली काँग्रेसका नेता शाहको २०५१ साल भाद्र १७ गते तत्कालीन नेकपा माओवादीले युद्धको अभ्यासको क्रममा हत्या गरेको थियो ।


-1788004022.jpeg)


-1759842583.jpg)