जिल्लाको स्वास्थ्य क्षेत्रमा एक वर्षको अवधिमा भएका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी दिनका लागि प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा तथा रुकुमेली समाज विकास केन्द्र र नेपाल जनजागरण मञ्च रुकुम पश्चिमको आर्थिक सहयोगमा मुसिकोट खलङ्गामा दुई दिने गोष्ठी सुरु भएको हो । गोष्ठीमा जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका लागि आवश्यक योजना निर्माणबारे छलफल गरिने स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गोष्ठीमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले कार्यालयले वर्षभरि स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका विभिन्न गतिविधि, उपलब्धि तथा प्रगतिबारे जानकारी गराउनुभएको थियो । उहाँले जिल्लाको स्वास्थ्य सेवा प्रवाह, विभिन्न स्वास्थ्य कार्यक्रम तथा आगामी दिनमा प्राथमिकताका साथ गर्नुपर्ने कामबारे समेत प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले स्वास्थ्य सेवा कार्यालयले प्रस्तुत गरेको वार्षिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा राम्रो काम भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । विशेष गरी स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो । प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लाको स्वास्थ्य सेवा सुधारका लागि आफ्नो तर्फबाट आवश्यक समन्वय र सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका सामाजिक विषयमा समेत सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले धूम्रपान तथा मद्यपान न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा बालविवाह न्यूनीकरणका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिकी प्रमुख लुम्बिनी गौतमले गत आर्थिक वर्षमा स्वास्थ्य सेवा कार्यालयले गरेका कामहरू राम्रो रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढ्न स्पष्ट योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा विभिन्न निकायबिच सहकार्य र समन्वय गर्दै काम भइरहेको उल्लेख गर्दै जिल्लामा स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार निर्माणको अवस्था क्रमशः सुधार हुँदै गएको बताउनुभयो । अब स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । नागरिक स्वस्थ रहन स्वास्थ्य संस्था वा सरकारको मात्र जिम्मेवारी नभई परिवार, समाज र सम्पूर्ण समुदायको साझा भूमिका आवश्यक पर्ने बताउनुभयो । आवश्यकताको पहिचान गरी प्राथमिकता निर्धारण गर्दै योजनाबद्ध रूपमा काम गरेमा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने प्रमुख गौतमको भनाई थियो ।

स्वास्थ्य सेवा कार्यालयका डाक्टर जीवन परियारको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपप्रमुख विकको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै गरी प्रमुख जिल्ला अधिकारी गौतम, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्मा, जिल्लाका स्वास्थ्यसम्बन्धी सरोकारवाला निकाय, पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य सेवा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी लगायत रुकुमेली समाज विकास तथा जनजागरण मञ्चका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले गर्नुभएको थियो । गोष्ठीमा वर्षभरिका स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा आगामी योजनासमेत तयार गरिने जनाइएको छ ।


-1788004022.jpeg)


-1759842583.jpg)