Kakhara सबैको खबर सम्पूर्ण खबर
पम्फाद्वारा जन्मदिनमा आश्रमलाई सहयोग, ज्येष्ठ नागरिक र अशक्तलाई अटोमा निःशुल्क सेवा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउकी पम्फा रोका बोहराले जन्मदिनको अवसरमा बुद्ध भूमि मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले सल्लेमा रहेको आश्रमै पुगेर नगद सहयोग गर्नुभएको हो । 

आश्रमको भवन निर्माणमा सहयोग पुगोस् भनेर उहाँले १० हजार प्रदान गर्नुभयो । जन्मदिनको अवसरमा असहाय नागरिकहरूले आश्रय लिइरहेको आश्रम थप व्यवस्थित रूपमा सञ्चालनका लागि निर्माण भइरहेको भवनमा सहयोग पुगोस् भनेर जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर सहयोग गरेको उहाँले बताउनुभयो । 

उहाँ अटो चालक हुनुहुन्छ । यसैबिच उहाँले आफ्नो जन्मदिनको अवसरमा आफ्नो अटोमा यात्रा गर्ने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सेवा दिने घोषणा गर्नुभएको छ । अशक्त तथा ७५ वर्ष माथिका सबै नागरिकहरूलाई आफ्नो अटोमा निःशुल्क सेवा दिने उहाँले बताउनुभयो । 

यसले अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूलाई गन्तव्यमा पुग्न तथा उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने उहाँको विश्वास छ । पम्फाले गत वैशाख देखि अटो चलाइरहनुभएको छ । मानवीय सेवा भावका आधारमा आफूले ज्येष्ठ नागरिक र अशक्त नागरिकहरूलाई निःशुल्क सेवा दिने भनाई उहाँको छ । 

महिलाले घर भित्रको काम गर्नुपर्छ भन्ने सामाजिक तथा पारिवारिक सोचबाट माथि उठेर उहाँले अटो चलाइरहनुभएको छ । वैदेशिक रोजगारीमा रहेका श्रीमान् तथा परिवारको सहयोगमै आफूले अटो सञ्चालन गरिरहेको पम्फाले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update