Kakhara सबैको खबर सम्पूर्ण खबर
भोटेकोसी बाढीमा बेपत्ता रुकुम पश्चिम चौरजहारीकी सीमाको कुशको शव बनाएर अन्त्येष्टि 

भाद्र १० गते भोटेकोसीमा आएको बाढीमा बेपत्ता रुकुम पश्चिमकी एक युवतिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ३ की २१ बर्सिया सीमा बुढाको शव नभेटिएपछि परिवार तथा आफन्तले आज पशुपति आर्यघाट काठमाडौँमा कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् । 

बेपत्ता भएको १६ औँ दिनमा सीमाको अन्त्येष्टि गरिएको हो । खोजी गर्दा जीवित तथा मृत फेला नपरेपछि अब भेटिने आस मारेका परिवारजनले सीमाको अन्त्येष्टि गरेका हुन् । बुवा चन्द्र बुढाले कुशको शवमा दागबत्ती दिएको रुकुमेली सेवा समाजका लोकेन्द्र खनालले जानकारी दिनुभयो । 

अत्येष्टिमा परिवारजन, आफन्त तथा जिल्लावासीको सहभागिता रहेको उहाँले बताउनुभयो । सीमा स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । उहाँले काठमाडौँस्थित मोडल अस्पतालमा स्टाफ नर्समा नाम निकाल्नुभएको थियो भने भाद्र १४ गतेबाट काममा जोडिने चरणमा हुनुहुन्थ्यो । सीमा उहाँ जिल्ला अस्पताल रसुवा अन्तर्गत बोर्डर नजिकको स्वास्थ्य चौकीमा कार्यरत काकी ललिता कुमाईलाई भेट्न जानुभएको थियो । 

सो क्रममा रसुवागढीको होटेल माउन्ट भ्युमा बसिरहेको अवस्थामा काकी र काकीकी छोरी बर्निता सेजवाल सहित सीमा विनाशकारी बाढीमा परेर बेपत्ता हुनुभएको हो । सीमा बुवा चन्द्र बुढा र आमा जुनकुमारी कुमाईकी कान्छी छोरी हुनुहुन्थ्यो भने उहाँका दुई दाइ रहेका छन् ।

भोटेकोसी बाढीमा परेर बेपत्ता भएकाहरूको शव फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्त्येष्टि गरिरहेका छन् । जीवित फेला पर्ने आस मरेपछि परिवारले धार्मिक विधि अनुसार अन्त्येष्टि गरिरहेका हुन् । यसअघि रसुवा भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा मुसिकोट २ का हरिबहादुर खड्काको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । 

हिन्दु धर्म संस्कार अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको लामो समयसम्म फेला नपरेमा वा शव प्राप्त हुने अवस्था नभएमा कुशको शव बनाएर दाहसंस्कार गर्ने परम्परा रहेको छ । यो विधिले मृतकको आत्मालाई मुक्ति मिल्ने र परिवारलाई मानसिक शान्ति मिल्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update