जाजरकोटमा निरन्तर वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा अभिभावक गुमाएका बालबालिकाको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्चको सहजीकरणमा राहत तथा सहयोग सामग्री उपलब्ध गराइएको हो ।
छेडागाड नगरपालिकाका विभिन्न क्षेत्रमा वर्षाका कारण प्रभावित २० परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि आवश्यक राहत सामग्री वितरण गरिएको छ ।
विपद्का कारण घरायसी तथा अत्यावश्यक सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले भान्सामा प्रयोग हुने भाँडाकुँडा, बालबालिकाका लागि आवश्यक सामग्री, न्यानो तथा ग्रीष्मकालीन कम्बल, किशोरी किट, आश्रय किट, सरसफाइ किट, मर्यादा किट तथा घरेलु पानी फिल्टरलगायतका सामग्री उपलब्ध गराइएको हो ।
२१ हजार ६ सय ७५ का दरले प्रति परिवार राहत सामग्री वितरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चले जनाएको छ । राहत सामग्री वितरण कार्यक्रममा छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापा तथा पाँचतारा युवा संरक्षक मञ्चका बोर्ड सदस्य गीता शाही लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा उपप्रमुख थापाले विपद्को समयमा प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न उपलब्ध गराइएको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता सहयोगले प्रभावित परिवारको दैनिक जीवनयापनमा राहत पुर्याउनुका साथै कठिन परिस्थितिमा स्थानीय सरकार तथा सरोकारवाला निकायको साथ र सहयोग रहेको अनुभूति गराउने उल्लेख गर्नुभयो ।
यसैबिच छेडागाड नगरपालिका–१, सोडरीमा अभिभावक गुमाएका बालबालिकालाई सहयात्रा तेस्रो परियोजना मार्फत मानवीय सहयोग उपलब्ध गराइएको छ । बालबालिकाको पारिवारिक अवस्था, दैनिक जीवनयापन तथा आधारभूत आवश्यकतासम्बन्धी जानकारी प्राप्त भएपछि उनीहरूको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो ।
उक्त सहयोग सामग्री सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक लोकमणि गिरीले बालक पृथ्वी नेपालीलाई हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरणका क्रममा छेडागाड नगरपालिका वडा नम्बर १ का वडा सदस्य जयरूपा बस्नेतको रोहवर रहेको थियो ।
११ हजार ९ सय ५ रुपैयाँको सामग्री वितरण गरिएको बताइएको छ । सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक गिरीले अभिभावकको साथ, संरक्षण तथा मार्गदर्शन गुमाएका बालबालिकालाई सहयोग गर्नु केवल आवश्यक सामग्री उपलब्ध गराउनु मात्र नभई उनीहरूप्रति समाजको माया, साथ, अपनत्व र जिम्मेवारी व्यक्त गर्नु पनि भएको बताउनुभयो ।
उहाँले कठिन परिस्थितिमा रहेका बालबालिकाले आफूहरू एक्लो नभएको अनुभूति गर्न सकुन् र आफ्नो शिक्षा तथा भविष्यप्रतिको आशा कायम राख्न सकुन् भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्नुभयो । विपद् प्रभावित परिवार तथा अभिभावकविहीन बालबालिकालाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्न तथा दैनिक जीवनयापन केही सहज बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।
विशेष गरी विपद्को समयमा बालबालिका, किशोरी, महिला तथा अन्य संवेदनशील समूहका आवश्यकता, सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्दै राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।





