Kakhara सबैको खबर सम्पूर्ण खबर
नवयुवा आन्दोलनः रुकुम पश्चिममा अझै १६ जना फरार  

गत वर्षको भदौ २४ गते नवयुवा आन्दोलनको फाइदा उठाएर फरार रहेका मध्ये रुकुम पश्चिममा अझै १६ जना कैदी बन्दी कारागार बाहिरै छन् । कारागार तोडेर भागेका ८८ जना कैदी बन्दी मध्ये १६ जना कैदी बन्दी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार फरार मध्ये ७२ जना पक्राउ परेका छन् । बिहिबार बाँफिकोट गाउँपालिका वडा नम्बर २ का दुर्गालाल परियार पक्राउ परेका छन् । कारागार तोडेर भारत पुगेका उनी घर आएर लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । 

यो संगै कारागार तोडेर फरार भएका मध्ये पक्राउ पर्नेको संख्या ७२ जना पुगेको प्रहरी निरीक्षक गिरीले जानकारी गराउनुभयो । ती मध्ये केही आफै कारागार फर्किएका हुन भने अधिकांशलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार कैदी बन्दीहरूलाई सम्पर्कमा आउन प्रशासन र प्रहरीले पटक पटक सूचना मार्फत आह्वान समेत गरेका थिए । उक्त समयमा केही फरार कैदी बन्दी आफै कारागार फर्किएका थिए । 

फरार कैदी बन्दीको खोजीलाई प्रमुखता दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । फरार भएका कैदी बन्दी कहाँ छन् भनेर खोजी भइरहेको बताउँदै उहाँले महत्त्वपूर्ण सूचना प्राप्त भएको भन्दै उनीहरूलाई पक्राउका लागि प्रहरी टोली खटिएको बताउनुभयो । 

गम्भीर अपराधमा समेत सजाय भोगिरहेका कैदी बन्दी फरार रहेकोले समाजमा आपराधिक गतिविधि बढ्न सक्ने जोखिम समेत छ । जेन–जी आन्दोलनको मौका पारेर देशभरका विभिन्न कारागारबाट हजारौँ कैदी बन्दी जेल तोडेर भागेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update