रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको बुद्धभूमि मानव सेवा आश्रमलाई कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको छ। मुसिकोट नगरपालिका–९ निवासी स्वर्गीय जयलाल नेपालीको सम्झनामा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरिएको हो । स्वर्गीय जयलालका छोरीहरू प्रतिभा नेपाली, मीना नेपाली, रचना नेपाली , छोरा देवचन्द्र नेपालीले आश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।
सहयोगस्वरूप एक बोरा चामल, पाँच केजी स्याउ, पाँच दर्जन केरा, पाँच केजी दाल, ७ पाकेट बिस्कुट, एक दर्जन कपडा धुने साबुनलगायतका सामग्री प्रदान गरिएको दुर्गाप्रसाद विकले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खाद्यान्न सामग्री बुद्धभूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई हस्तान्तरण गरिएको हो । बुवाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय बुवाको सम्झनामा आश्रममा आश्रित व्यक्तिहरूलाई खाद्यान्न सहयोग गर्दै उहाँहरूको दैनिक जीवनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको परिवारले जनाएको छ । स्वर्गीय जयलालको गत वर्ष निधन भएको थियो।





