Kakhara सबैको खबर सम्पूर्ण खबर
अपाङ्गता भएका खड्काका चार सन्तानलाई अमेरिकाबाट शैक्षिक सामग्री सहयोग

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ९ लिङुरका धनबहादुर खड्काका छोराछोरीलाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री सहयोग गरिएको छ । चौरजहारी नगरपालिका–१४ घर भई हाल अमेरिकामा बस्दै आउनुभएका प्रेम पुनले खड्काका छोराछोरीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।  आर्थिक तथा शारीरिक समस्याका कारण दैनिक जीवनयापनमै कठिनाइ भोग्दै आउनुभएका खड्काका चार छोराछोरीको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको  पुनले बताउनुभयो  । 

आज पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओलीले खड्कासहित उहाँका श्रीमती छोराछोरीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । शैक्षिक सामग्री अन्तर्गत वर्षभर पुग्ने कापी, कलम र  एक / एक वटा विद्यालय झोला लगायतका आवश्यक शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । धनबहादुरको एउटा खुट्टा नभएका कारण उहाँलाई दैनिक जीवनयापनमा सँगै छोराछोरीको पठनपाठन समेत  समस्या हुने गरेको छ । छोराछोरीलाई पठनपाठनमा समस्या भइरहेका बेला पुनले गर्नुभएको सहयोग  महत्वपूर्ण भएको खड्काको भनाई छ ।

खड्काका चार सन्तानमध्ये १५ वर्षीया जेठी छोरी कक्षा ८ मा १२ वर्षीया माइली छोरी कक्षा ६ मा , १० वर्षीया कान्छी छोरी कक्षा ३ मा र ६ वर्षीय छोरा कक्षा १ मा अध्ययनरत छन् । पढाइमा आवश्यक पर्ने शैक्षिक सामग्री एक वर्षसम्म पुग्ने गरी सहयोग प्राप्त भएपछि राहत मिलेको खड्काले बताउनुभयो । आफ्नो जिवनयापन सँगै छोराछोरीको पठनपाठनमा आर्थिक समस्या रहेकाले सकेको सहयोग गर्न खड्काले सबैमा आग्रह गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update