भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि रुकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले ८ लाख ७२ हजार ९ सय ९९ रुपैयाँ सहयोग गरेका छन् । निजी तथा संस्थागत विद्यालयहरूको छाता सङ्गठन प्याब्सन रुकुम पश्चिमका सचिव विमलकुमार शर्माका अनुसार जिल्लाका १४ वटा विद्यालयबाट उक्त रकम सङ्कलन भएको हो । बाढीपीडितको राहतका लागि जिल्लाबाट प्याब्सन राहत कोषमा उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो ।
सहयोग गर्ने विद्यालयमध्ये मुसिकोट नगरपालिका–५ मा रहेको न्यु मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलले सबैभन्दा बढी २ लाख ३ हजार ६ सय ८२ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै मुसिकोट नगरपालिका–१ मा रहेको विजयश्वरी बोर्डिङ स्कुलले २ लाख १ हजार ९ सय ९४ रुपैयाँ सहयोग गरेको सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोट नगरपालिका-४ मा रहेको सिस्ने एकेडेमी प्रालिले ५३ हजार ३ सय ३३ रुपैयाँ र मुसिकोट नगरपालिका-५ मा रहेको सिस्ने सनराइज बोर्डिङ स्कुलले ६० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी मुसिकोट नगरपालिका-७ रहेको साइकुमारी बोर्डिङ स्कुलले २५ हजार १ सय ११ रुपैयाँ, मुसिकोट नगरपालिका-६ मा रहेको रुकुमेली ब्राइट फ्युचर बोर्डिङ स्कुलले ५० हजार ५ रुपैयाँ, मुसिकोट नगरपालिका-१ को मा रहेको रातोतारा बोर्डिङ स्कुलले १३ हजार १४ रुपैयाँ र चौरजहारी नगरपालिका–१ मा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलले ५० हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन् ।
आठबिसकोट नगरपालिका –९ मा रहेका दुई विद्यालयमध्ये पिस जोन एजुकेशनल एकेडेमीले ५७ हजार १ सय रुपैयाँ र सिर्जना एकेडेमी प्रालिले ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, बाँफिकोट गाउँपालिका-२ मा रहेको नमुना ज्ञान ज्योति बोर्डिङ स्कुलले २८ हजार ४ सय ६५ रुपैयाँ, बाँफिकोट गाउँपालिका ४ मा रहेको सिस्ने स्यार्पु बोर्डिङ स्कुलले २२ हजार २ सय २२ रुपैयाँ, बाँफिकोट–६ मा रहेको हाइलाइट बोर्डिङ स्कुलले ४ हजार २ सय ६२ रुपैयाँ र सानीभेरी गाउँपालिका–३ मा हरेको सानीभेरी बोर्डिङ स्कुलले ५२ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको प्याव्सन रुकुम पश्चिमका सचिव शर्माले बताउनुभयो ।





