Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा प्रदर्शन
सहभागी ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “मेरो प्रतिभा, मेरो आवाज”  प्रतिभा प्रदर्शन कार्यक्रम  सम्पन्न भएको छ । अपाङ्गता पुनस्थापना केन्द्र चौरजहारीको आयोजनामा तथा मानव विकास तथा सामुदायिक सेवा द्वारा संचालित राईज-अप परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चौरजहारी नगरपालिकाका १३ वटा वडाबाट ५७ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको  राईज-अप परियोजनाका परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमम सहभागीहरूले गीत गायन, नृत्य, कविता/गजल वाचन, वक्तृत्वकला, अभिनय/हास्य प्रस्तुति तथा चित्रकला/हस्तकला लगायतका विभिन्न विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण सहभागी समूहहरूलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुष्प बादीले “मेरो प्रतिभा, मेरो आवाज” कार्यक्रम निकै राम्रो र महत्वपूर्ण कार्यक्रम भएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले पहिलो पटक आफ्नो प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर पाएको र यसबाट आफूहरू निकै खुसी भएको अनुभव व्यक्त गरेका थिए । उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

चौरजहारी अपाङ्गता पुनस्थापना केन्द्रका अध्यक्ष शान्तबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख वादीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिमा चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, अथितिहरुमा महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पोखरेल, एचडिसिएस राईज - अप परियोजनाका परियोजना अधिकृत लगायत विभिन्न सरोकारवाला निकायको उपस्थित रहेको थियो  ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update