Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकाेटमा तीन जिल्लाको सिकाइ आदान प्रदान 

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकामा नेपालमा यौन तथा प्रजनन स्वास्थ्यमा दिगो सशक्तीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत संयुक्त सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । यो परियोजना रुकुम पश्चिम, जाजरकोट र रुकुम पूर्वमा सञ्चालन भइरहेकोमा आठबिसकाेटमा तीन वटै जिल्लाको संयुक्त सिकाइ आदानप्रदान कार्यक्रम भएको हो । 

वडा नम्बर ११ गतसैना स्थित सहरी स्वास्थ्य केन्द्रमा मङ्गलवार कार्यक्रम भएको हो । यो परियोजना रुकुम पश्चिममा आइपास नेपाल र रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालनमा छ । त्यस्तै जाजरकोटमा पाँचतारा युवा संरक्षक मञ्च र रुकुम पूर्वमा मिक नेपालसँगको सहकार्यमा यो परियोजना सञ्चालनमा छ । यस परियोजना मार्फत समुदाय तथा स्वास्थ्य संस्थामा क्षमता विकास तालिम, जलवायु अनुकूलता सम्बन्धी विभिन्न काम, समुदाय स्तरमा जीविकोपार्जनका कार्यक्रम र समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम लगायतका गतिविधिहरू सञ्चालन भइरहेको रुकुमेली समाज विकास केन्द्रका निमित्त कार्यकारी अधिकृत मदन खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रममा तीन वटै जिल्लामा सञ्चालन भइरहेका गतिविधिको समीक्षा, समुदाय स्तरमा परेका सकारात्मक प्रभाव, परियोजना सञ्चालनमा देखिएका चुनौती, आगामी योजना, परियोजनाको प्रभावकारिताका लागि ध्यान दिनुपर्ने पक्षहरू, समुदाय, स्वास्थ्य संस्था तथा स्थानीय तहको परियोजनाबारे बुझाई, अपेक्षा, सिकाइ तथा अनुभवहरू आदानप्रदान गर्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा देखिएका चुनौती, समुदायका आवश्यकता तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे सहभागीहरूसँग अन्तरक्रिया तथा छलफल गरिएको उहाँले बताउनुभयो । सहभागीहरुले परियाेजनाले समुदायमा पुर्याएकाे याेगदानकाे प्रशंसा गरेका थिए । 

यस कार्यक्रमले परियोजनाका सिकाइ तथा अनुभवहरूलाई सम्बन्धित सरोकारवालाबिच आदानप्रदान गर्दै आगामी कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ । कार्यक्रममा तीन वटै जिल्लाका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले परियोजना कार्यान्वयनकाे अवस्था, परियोजनाको प्रभाव, सिकाइ लगायतका बारेमा शेयरिङ गरेका थिए । त्यस्तै स्वास्थ्य संस्था, पालिकाको स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदाय स्तरका लाभग्राहीले परियोजना लागू भएपछि आएको परिवर्तनबारे अनुभव आदानप्रदान गरेका थिए । 

त्यस्तै कार्यक्रममा आइपास युएसए, आइपास इन्डाेनेशिया, आइपास नेपाल, रुकुमेली समाज विकास केन्द्र, मिक नेपाल रुकुम पूर्व र पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटको संयुक्त टोलीको सहभागिता रहेको रुकुमेली समाज विकास केन्द्रका निमित्त कार्यकारी अधिकृत खड्काले जानकारी गराउनुभयो । त्यस्तै कार्यक्रममा आठबिसकोट नगरपालिका स्वास्थ्य शाखा, अस्पताल प्रमुख तथा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यार्थी, सामाजिक अगुवा तथा समुदाय स्तरका प्रत्यक्ष लाभग्राहीहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update