रुकुम पश्चिममा स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयबाट सञ्चालन भइरहेका विकास निर्माणका कामको अनुगमन अब सरोकारवालाको सहभागितामा गर्ने तयारी गरिएको छ। सामाजिक विकास कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमको अवस्था बुझ्न विकास निर्माण आयोजना अनुगमन तथा निगरानी सहकार्य समिति गठन गर्न लागेको हो ।
कार्यालयका अनुसार आयोजना सञ्चालनका क्रममा देखिने समस्या पहिचान गर्ने, आवश्यक सुझाव दिने र सम्बन्धित निकायबिच समन्वय गर्ने गरी समितिले काम गर्नेछ । विकास निर्माणका काममा स्थानीय स्तरबाटै निगरानी बढाउन राजनीतिक दल, पत्रकार तथा अन्य सरोकारवालालाई समेत जोड्न लागिएको हो ।
समिति गठनका लागि कार्यालयले जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई प्रत्येक स्थानीय तहका लागि एक जना प्रतिनिधि पठाइदिन आग्रह गरेको छ । प्रतिनिधिको नाम, पद, जिम्मेवारी र सम्पर्क नम्बरसमेत उपलब्ध गराउन कार्यालयले अनुरोध गरेको हो ।
कार्यालय प्रमुख मितलेशकुमार यादवले विकास आयोजनाको अनुगमनमा सरोकारवालाको सहभागिताले कामको गुणस्तर, पारदर्शिता र जबाफदेहिता कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
स्थानीय तहमा सञ्चालन हुने विकासका काममा नागरिकको चासो र सहभागिता बढाउँदै आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठनको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
प्रभावकारी अनुगमनको अभावमा जिल्लामा विकास निर्माणका काम गुणस्तरीय हुन नसकेको र कर्मकाण्डी अनुगमन भइरहेको गुनासो आइरहेको बेला सामाजिक विकास कार्यालयले भने सर्वपक्षीय अनुगमन समिति निर्माण गर्न लागेको हो ।






