Kakhara सबैको खबर सम्पूर्ण खबर
झुल्नेटा बजारमा अनुगमन: ४७ हजारभन्दा बढीका म्याद गुज्रेका सामान नष्ट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ र ६ मा अवस्थित झुल्नेटा बजारमा अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा ४७ हजार १ सय २० रुपैयाँ बराबरका म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको छ ।

उपभोक्ता हित संरक्षण कार्यालयको अगुवाइमा बुधवार झुल्नेटा बजारमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, त्रिवेणी गाउँपालिका लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

अनुगमन टोलीले बजारका होटेल, खाद्य तथा किराना पसल, फेन्सी पसल, चाउमिन तथा बेकरी उद्योग, कस्मेटिक, हार्डवेयर, भाँडा पसल र एग्रोभेट लगायतका व्यवसायको निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त विभिन्न खाद्य तथा अन्य सामग्री फेला परेका थिए । ती सामग्री बरामद गरी नियमानुसार नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।

बजारमा बिक्री भइरहेका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर, म्याद, मूल्य र व्यवसाय सञ्चालन सम्बन्धी अवस्थाको समेत निरीक्षण गरिएको जनाइएको छ ।उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने गौतमले बताउनुभयो । 

साथै व्यवसायीलाई म्याद नाघेका सामग्री बिक्री नगर्न, मूल्य सूची राख्न तथा उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन निर्देशन दिइएको छ । आगामी अनुगमनमा यस्ता त्रुटिहरू भेटिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update