भोटेकोसी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ५ करोड सहयोग अभियानमा सहभागी हुँदै एनसीसी सेसेल्सले ८ लाख ७५ हजार २४ सहयोग गरेको छ ।
एनआरएनएले सङ्कलित रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरी ५ करोडको सहयोग अभियानमा समावेश गर्ने प्रतिबद्धता जनाएको थियो । सोही अभियानअन्तर्गत एनसीसी सेसेल्सको अनुरोध तथा अपिलमा सहभागी हुँदै सेसेल्समा रहेका नेपाली तथा शुभेच्छुकहरूबाट उक्त रकम सङ्कलन गरिएको हो ।
सङ्कलित रकम आइसीसीमार्फत प्रधानमन्त्री राहत कोष ५ करोडको सहयोग अभियान एनआरएनए सचिवालय, बालुवाटार, काठमाडौँमा हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरणका क्रममा एनसीसी सेसेल्सका अध्यक्ष बलराम सिटौला तथा एनआरएनए अनुशासन समिति उप–संयोजक नवीन आरनको उपस्थिति रहेको थियो ।
अफ्रिका क्षेत्रबाटै एक करोडभन्दा बढी सहयोग
एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज विकका अनुसार अफ्रिका क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्, एनआरएनए अभियानकर्ताहरू तथा नेपाली समुदायबाट राहत सहयोग सङ्कलनलाई अघि बढाइएको थियो ।
अफ्रिका क्षेत्रबाट मात्रै विभिन्न माध्यममार्फत १ करोडभन्दा बढी सहयोग नेपाल सरकारसमक्ष पुगिसकेको विकले जानकारी दिनुभयो । विपद्को समयमा अफ्रिकामा रहेका नेपाली समुदायले देखाएको एकता, सहकार्य र मानवीय भावना उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।
विकले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
सेसेल्सबाट ८ लाख ७५ हजार रुपैयाँ सहयोग
एनसीसी सेसेल्सका अनुसार यस अभियानअन्तर्गत सेसेल्समा सङ्कलित ६ लाख ६० हजार २४ तथा व्यक्तिगत रूपमा एनआरएनए इमर्जेन्सी फन्ड खातामा पठाइएको २ लाख १५ हजार गरी कुल ८ लाख ७५ हजार २४ सहयोग रकम हस्तान्तरण गरिएको हो ।
यसैबिच, एनसीसी सेसेल्सले आगामी दसैँ फन्डरेजिङ कार्यक्रममार्फत सङ्कलन हुने रकमलाई पहिलो चरणको राहत अभियानभन्दा छुट्टै रूपमा दोस्रो चरणमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा प्रभावित परिवारहरूको सहयोगमा प्रयोग गर्ने जनाएको छ ।
राहत सङ्कलन अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूको नाम तथा विवरण सार्वजनिक गरिएको छ । प्राविधिक त्रुटिका कारण कुनै दाताको नाम छुटेको वा विवरणमा गल्ती भएको भए जानकारी गराउन अनुरोध गरिएको छ ।
भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि एनसीसी सेसेल्सले सञ्चालन गरेको यस अभियानमा सहभागी सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति एनआरएनए अफ्रिका क्षेत्रले आभार व्यक्त गरेको छ ।





