सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३५ करोड बढी राजस्व संकलन गरेका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतका यातायात कार्यालयबाट संकलित राजस्वको विवरणअनुसार सुर्खेत, जुम्ला र रुकुम पश्चिमबाट गरी कुल ३५ करोड ८ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व संकलन भएको हो । जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व सुर्खेतबाट २९ करोड ५६ लाख ९ हजार ४१० रुपैयाँ राजस्व संकलन भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्लाबाट १ करोड ९४ लाख ४२ हजार ५४० रुपैयाँ र रुकुम पश्चिमबाट ३ करोड ५७ लाख ९१ हजार ६५० राजस्व संकलन भएको छ । राजस्व संकलनको मुख्य आधार सवारी साधन कर रहेको छ । कुल राजस्वमध्ये सवारी साधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ । त्यस्तैगरी चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व संकलन भएको सचिव बमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार यातायात क्षेत्रबाट संकलित राजस्वमा सुर्खेत जिल्लाको योगदान सबैभन्दा बढी रहेको छ । यातायात कार्यालयबाट प्राप्त राजस्वको प्रमुख आधार सवारी साधन करसँगै चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुर रहेको छ । यातायात क्षेत्रको सेवा प्रवाहलाई आगामी दिनमा थप व्यवस्थित, सहज र प्रभावकारी बनाउँदै राजस्व संकलन तथा प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने गरी मन्त्रालय लागिरहेको मन्त्री मिलन खड्का रोकाले बताउनुभयो । आफुले मन्त्रालयको जिम्मेवारी सम्मालेपछि यस विषयमा पनि मन्त्रालय गम्भीर भएर लागेको उहाँको भनाइ थियो ।





