Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली समाज विकास केन्द्रको २१ औँ साधारण सभा सम्पन्न, झन्डै ३ लाख नागरिक लाभान्वित

 रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन र संशोधित नियम, विनियमावली पारित गरेको संस्था अध्यक्ष केशनकुमार क्षेत्रियालले जानकारी दिनुभयो । 

संस्थाका अध्यक्ष क्षेत्रियालको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको प्रमुख र संस्थाका संस्थापक अध्यक्ष नरबहादुर लम्सालकाे विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

साधारण सभाको उद्घाटन सत्रमा संस्थाका सचिव प्रविर ददेलले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै बन्द सत्रमा संस्थाको आर्थिक प्रतिवेदन र एक वर्षको बिचमा संशोधन भएका तथा नयाँ बनेका नियम तथा विनियमावलीहरु पेस गरिएको थियो । जसमा आवश्यक छलफल सहित सभाले पारित गरेको अध्यक्ष क्षेत्रियालले बताउनुभयो । 

संस्थाका उपाध्यक्ष सुशीला शर्मा दाहालको स्वागत मन्तव्य रहेको सभाको सञ्चालन संस्थाका क्षमता विकास संयोजक जगदीश खड्काले गर्नुभएको थियो । रुकुम पश्चिमको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको रुकुमेली समाज विकास केन्द्रले रुकुम पश्चिम सहित जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, मुगु लगायतका जिल्लामा विभिन्न दातृ निकायको सहयोगमा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । संस्था मार्फत हाल ६ वटा परियोजनाहरू सञ्चालनमा रहेका छन् । 

संस्थाका अनुसार वान हर्ट वर्ल्ड वाइडको सहयोगमा रुकुम पश्चिममा स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुदृढीकरण कार्यक्रम, हेल्भेटास नेपालको सहयोगमा जाजरकोट र रुकुम पश्चिममा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र आइपास नेपालको सहयोगमा रुकुम पश्चिममा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सबलीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना सञ्चालनमा छ । 

त्यस्तै युनिसेफ नेपालको सहयोगमा मुगु, सुर्खेत, जाजरकोट र दैलेखमा कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा वास, अस्पताल फोहोर व्यवस्थापन, सङ्क्रमण रोकथाम नियन्त्रण तथा सेवामा सुधार कार्यक्रम, आइपास नेपालको सहयोगमा रुकुम पश्चिममा नेपालमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुधारका लागि उत्थानशील स्वास्थ्य प्रणाली परियोजना र फेल्म वर्ल्ड–लि को सहयोगमा सल्यानमा परिवर्तनशील जलवायुसँग सामना गर्न सक्षम समुदायहरूको निर्माण परियोजना सञ्चालनमा रहेको संस्थाले जनाएको छ । 

संस्था मार्फत बितेको आर्थिक वर्ष कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, मुगु र सल्यान जिल्लामा विभिन्न परियोजना मार्फत २ लाख ८६ हजार ८ सय २० जना लाभान्वित भएको संस्थाका अध्यक्ष क्षेत्रियालले जानकारी गराउनुभयो । 

उहाँका अनुसार संस्थाले परियोजनालाई प्रभावकारी, पारदर्शी र जबाफदेही बनाउन स्थानीय सरकार, सरकारी तथा गैरसरकारी निकाय, साझेदार संस्था र समुदायसँग निरन्तर समन्वय गर्दै आएको र सामाजिक परीक्षण तथा अनुगमन मार्फत संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएको छ । 

संस्थाले आगामी दिनमा पनि समानता, सशक्तीकरण र सामाजिक न्याय मार्फत समुन्नत समाज निर्माणको मूल उद्देश्यलाई आत्मसात् गर्दै संस्थालाई अझ प्रभावकारी, जबाफदेही र परिणाममुखी बनाउँदै लैजाने समेत प्रतिबद्धता जनाएको छ ।। 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update