रुकृुम पश्चिमको सानीभेरी गाउँपालिकामा शुद्ध वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर १० घनठानामा असोज ३१ गतेबाट पालिका भित्रका सबै वडाहरुले प्रतिस्पर्धा गर्न पाउने गरी पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
त्यस्तै प्रतियोगितामा चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकाका शुद्ध वडास्तरीय बढीमा २÷२ वटा विशेष टिमहरूलाई मात्र सहभागी गराइने छ ।
विगत लामो समयदेखि साविक अर्मा गाउँविकास समिति स्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएकोमा यस वर्ष भने प्रतियोगितालाई फराकिलो र भव्य बनाउने निर्णय सहित गाउँपालिका भित्रका सबै वडाले र छिमेकी पालिकाका समेत केही टिमले प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
बृहत् वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजक समिति सानीभेरी गाउँपालिका वडा नम्बर १० ले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ५० हजार, उपविजेताले ३० हजार र तृतीय हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् । त्यस्तै प्रथम, द्धितीय र तृतीय टिमले नगद सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका बमकाजी शिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाले नगद तथा जिन्सि सहयोग गरिरहेका छन् । प्रतियोगिताको द्धितीय पुरस्कार सानीभेरी १० का विजय ओली र तृतीय पुरस्कार सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले सहयोग गर्नुभएको छ ।
प्रतियोगिताका आयोजक तथा खेलप्रेमी व्यक्तित्व धिरेन्द्र समबाट समग्र व्यवस्थापन खर्च लगभग ६० हजार व्यक्तिगत रूपमा सौजन्य प्राप्त भएको बताइएको छ ।
त्यस्तै देश तथा विदेशमा रहेका व्यक्तिहरुबाट प्रतियोगिता सञ्चालनका लागि नगद तथा जिन्सी अर्थात् खेलकुद सामग्री लगायत सहयोग प्राप्त भइरहेको शिर्पालीले जानकारी गराउनुभयो । साथै उहाँले प्रतियोगितामा सहभागिताका लागि पालिकाका सबै वडाका खेलाडीलाई आग्रह गर्नुभएको छ भने प्रतियोगिता सञ्चालनका लागि सकेको सहयोग गर्न देश तथा विदेशमा रहेका खेलप्रेमी महानुभावहरुलाई आग्रह समेत गर्नुभयो ।
प्रतियोगितामा सहभागीका लागि असोज २९ गतेसम्म टिम दर्ता गर्न सकिने छ भने ३० गते प्रतियोगिताको खेल तालिका अर्थात् टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ ।





