कर्णाली प्रदेशका दुई मन्त्रीले शैक्षिक गुणस्तर वृद्धिमा जोड दिएका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा अवस्थित यमुना नन्द नमुना मावि शेरिगाउँले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्काले शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुभएको हो ।
मन्त्री कल्याणी खड्काले शिक्षा र प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । हाम्रा मौलिक पहिचानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने र यसमा शिक्षालाई जोड्नुपर्ने उहाँको भनाई छ । शिक्षाको माध्यमबाट हाम्रा मौलिक संस्कृतिहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनुपर्ने उहाँले बताउनुभयो ।
साथै उहाँले विद्यार्थी सङ्ख्या, शिक्षक दरबन्दी, विषयगत शिक्षकको अभाव, महिला शिक्षकको अवस्था तथा भौतिक पूर्वाधारलगायतका विषयप्रति कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको र यसमा सरकारले काम गरिरहेको उहाँको भनाई छ ।
त्यस्तै मन्त्री मिलन खड्काले शिक्षकहरू विद्यार्थीको भविष्य निर्माणमा गम्भीर हुनुपर्ने र विद्यार्थी पनि आफ्नो भविष्य निर्माणप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । शैक्षिक पूर्वाधार निर्माण देखि शैक्षिक गुणस्तर बढाउन प्रदेश सरकार गम्भीर रहेको उहाँको भनाई छ ।

आफ्ना छोरा छोरीको भविष्यका लागि अभिभावक पनि चिन्तित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले समायानुकुल शिक्षण हुनुपर्ने र शिक्षणमा प्रविधिको प्रयोग गर्न विद्यालयलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले डिजिटल कर्णाली अन्तर्गत शिक्षामा पनि प्रविधिको प्रयोगलाई जोड दिइएको बताउनुभयो ।
जिल्ला आएको अवसर पारी यमुना नन्द नमुना माविले २ मन्त्रीहरूलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । प्रधानाध्यापक कमप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रीद्वय सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव केसी, कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्व पदाधिकारी तथा सदस्य, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी गणेश केसीले गर्नुभएको थियो ।





