Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको खाद्यमा उपभोक्ताको भिड, के के पाइन्छ सुपथमा ?

रुकुम पश्चिममा सञ्चालित सहुलियत पसलमा जिल्लावासीको राम्रो आकर्षण देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पश्चिममा गत साउन २८ गतेबाट सुरु भएको सहुलियत पसलमा उपभोक्ताको राम्रो आकर्षण देखिएको हो । 

खाद्यको साबिकको मूल्यमा छुट तथा बजार मूल्य भन्दा सस्तोमा खाद्यान्न पाइने भएपछि जिल्लावासीको आकर्षण बढेको हो । यसअघि चामल मात्र सहुलियतमा बिक्री भइरहेकामा यो वर्ष भने दाल, तेल र चिनीको समेत बिक्री सुरु भएपछि उपभोक्ताहरूको भिड बढेको शाखा प्रमुख अमृत खनालले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुल १ लाख ९० हजार छुट दिने गरी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । हालसम्म उपभोक्ताहरूले १ लाखको छुट पाइसकेको र अब ९० हजार बाँकी रहेको उहाँको भनाई छ । चामलमा प्रतिकिलो ५ रुपैयाँ, तेल प्रतिलिटर ५ रुपैयाँ, दाल प्रतिकिलाे ५ रुपैयाँ छुटमा बिक्री भइरहेको छ भने चिनी बजार मूल्य भन्दा सहुलियत १ सय १० रुपैयाँमा बिक्री भइरहेको खनालले जानकारी गराउनुभयो । 

मुसुरोको दाल प्रतिकेजी १ सय ४५ रुपैमा बिक्री भइरहेको छ । चामल स्टिम जिरा मसिनो साबिकमा २३ सय रुपैयाँमा एउटा बोरा बिक्री भइरहेकामा अहिले २१ सय ७५, पोषण तत्त्व चामल जिरा मसिनो साबिकमा २३ सयमा बिक्री भइरहेकामा अहिले २१ सय ७५ र अरुवा सावा चामल साबिकमा १८ सयमा बिक्री भइरहेकामा अहिले १६ सय ७५ मा बिक्री भइरहेको छ । 

त्यस्तै अरुवा मध्यम चामल १५ सय ७५ मा बिक्री भइरहेकामा अहिले १४ सय ५०, अरुवा सोना चामल साबिकमा १५ सय ५० मा बिक्री भइरहेकामा अहिले १४ सय २५ रुपैयाँ, अरुवा मोटा चामल साबिकमा १५ सय २५ रुपैयाँमा बिक्री भइरहेकामा अहिले १४ सय रुपैयाँमा प्रति बोरा बिक्री भइरहेको शाखा प्रमुख खनालले बताउनुभयो । 

सनफ्लावर तेलको मूल्य साबिकमा प्रतिलिटर ३ सय २ रुपैयाँ रहेकामा हाल २ सय ९७ रुपैयाँमा बिक्री भइरहेको छ । तेलमा अझै छुट पनि हुन सक्ने अवस्था रहेको उहाँको भनाई छ । जिल्लाका लागि कुल १ लाख ९० हजार सहुलियत कोटा रहे पनि यसमा केही थप हुने सक्ने समेत उहाँले जानकारी गराउनुभयो । 

हाल शाखा कार्यालयमा मात्र सहुलियतमा बिक्री भइरहेकामा शाखा मातहतका बिक्री केन्द्रहरूमा समेत छुट्टै सहुलियतको व्यवस्था हुने बताइएको छ । तुलनात्मक रूपमा चिनी बढी बिक्री भइरहेको छ । चिनी एक हप्तामा ५० क्विन्टल बिक्री भइसकेकोमा अब ५० क्विन्टल ल्याउने तयारी भइरहेको बताइएको छ । चाडपर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update