Kakhara सबैको खबर सम्पूर्ण खबर
वर्षा र हावाहुरीले सानीभेरीमा ठूलो क्षति, दुई तोला सुनसमेत बग्याे

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० घनठाना क्षेत्रमा एक्कासि आएको अविरल वर्षा र हावाहुरीले घर, पसल, पशुचौपाया तथा अन्नबालीमा क्षति पु¥याएको छ । गएराती परेको अविरल वर्षा र हावाहुरीका कारण घनठानामा स्थानीयको घर, पसल तथा पशुचौपायामा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार २२ वर्षीय उदिराम खड्काको दुईतले, चारकोठे टिनले छाएको कच्ची घर पूर्णरूपमा बग्दा एक भैंसी, सात बाख्रा, तीन खसी, चार कुखुरा, लत्ताकपडा, खाद्यान्न तथा भाँडाकुँडा पनि बगेका छन् ।

घरमा रहेको दुई तोला सुन र १० हजार रुपैयाँ नगदसमेत बगेको जिल्ला प्रहरीले जनाएको छ । त्यस्तै ३४ वर्षीय मोतिराम खड्काको दुईतले, छकोठे टिनले छाएको कच्ची घरमा भल पसेर आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा र हावाहुरीले खड्कबहादुर खड्का र बमबहादुर विकका टिनले छाएका घुम्ती किराना पसलमा समेत क्षति पु¥याएको छ । पसलमा रहेका खाद्यान्न, लत्ताकपडा, जुत्ता, भाँडाकुँडा लगायतका सामानमा क्षति पुगेको उहाँले बताउनुभयो । बमबहादुर विकको पसलमा रहेको ग्यास चुलो, फ्रिज तथा अन्य सामग्रीमा समेत क्षति भएको छ । 

त्यसैगरी भिमबहादुर विकको घुम्ती पसल तथा आरा (फलाम पिट्ने) मेसिनमा क्षति पुगेको छ । पञ्चराम डाँगीले खोलाको किनारमा बाँधेका दुई वटा गोरु पनि बगेका छन् । गंगाराम खड्काको कच्ची गोठमा रहेका तीन वटा भैंसी बगेका छन् ।वडाभित्र रहेका अन्य १४ वटा घर, खानेपानीका पाइप, १५ वटा बिजुलीका पोल तथा खेतमा रहेको धान र तरकारीबालीमा समेत क्षति पुगेको छ । घटनामा मानवीय क्षति भने भएको छैन् । वडा नम्बर ८, ९ र ११ को क्षेतिको विवरण आउँन बाँकी रहेको सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा वर्षाले क्षेती पुर्याएको सडक सरसफाई गर्न आवश्यक प्रक्रिया अगाडी बढाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update