Kakhara सबैको खबर सम्पूर्ण खबर
कमलदहमा प्रवेश शुल्क !
कमलदह ।

कमलदह दृश्यावलोकनमा प्रवेश शुल्क लगाइएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका ५, मा अवस्थित कमलदह अवलोकनका लागि आउनेहरुका लागि प्रवेश शुल्क लिन थालिएको हो । पछिल्लो पटक साउन २५ गतेदेखि यहाँ प्रवेश गर्नेबाट शुल्क लिन थालिएको हो ।

सिस्ने गाउँपालिकाले एक जना कर्मचारी राखेर हरेक व्यक्तिबाट २० रुपैयाँ लिने गरेको छ । जेष्ठ नागरिक, विद्यार्थी र अपांगले भने यसको ५० प्रतिशतक अर्थात १० रुपैयाँमै कमलदह हेर्न पाइरहेका छन् । २० रुपैयाँमा रसिद काटेपछि दिनभर नै कमलदह हेर्न पाउने गरी व्यवस्था गरिएको छ ।

यस अघि लकडाउन हुनु पूर्व नै यो टिकट सिस्टम सुरु गरिएको थियो । कोरोनाका कारण बीचमा यहाँ आउजाउ बन्द गरिएको थियो । पछिल्लो पटक भने केही दिन यता यहाँ आउनेहरुबाट शुल्क लिन थालिएको हो । यसबाट संकलित रकम सोझै गाउँपालिकामा जम्मा गर्ने गरिएको छ । कर्मचारीको तलब व्यवस्थापन भने गाउँपालिकाले

गरिरहेको छ । कर्मचारी डण्डबहादुर शाहीले दैनिक सरदर २५ देखि ३० जना मान्छे कमलदह हेर्न आउने गरेको जानकारी दिनुभयो । रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, सल्यान र जाजरकोटबाट समेत मान्छेहरु घुम्न आउने गरेको शाहीले बताउनुभयो ।

सिस्ने गाउँपालिकाले एउटा प्रणालीको विकास गर्नका लागि थोरै शुल्क लिन थालेको बताएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले कमलदहको व्यवस्थापन थालिएको बताउनुभयो । शुल्क लिने काम पनि एउटा परीक्षण भएको भन्दै उहाँले यसबाट आउने परिणामका आधारमा थप योजना र नीति, कार्यक्रम बनाउने बताउनुभयो ।

एउटा अनुशासनको रुपमा यो कार्य अघि बढाएको उहाँको भनाई छ । पछिल्लो पटक कमलदह घुम्नका लागि आउनेहरुको संख्या बढेर गएको छ । दैनिक दिनको साथै विदाको दिन कमलदह आउनेहरुको संख्या बढी हुन्छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update