Kakhara सबैको खबर सम्पूर्ण खबर
सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी अभिमुखिकरण

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र मुसिकोट नगरपालिकाको समन्वयमा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस नेपाल)ले सामाजिक सुरक्षा र मुख्य घटना दर्ता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । 

सामाजिक सुरक्षा र मुख्य घटना दर्ताका सम्बन्धमा परियोजनाले मुसिकोट नगरपालिकाभित्र आगामी दिनमा संचालन गर्ने समुदाय परिचालन सम्बन्धी कार्यक्रमहरुको विषयमा जानकारी गराउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । कार्यबाहक प्रमुख प्रेम कुमारी सुनार केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सहजीकरण सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक पुष्कर काफ्ले, लेखा अधिकृत किशोर पाण्डे र सिविस नेपालका परियोजना संयोजक उमङ्ग मैनालीले गर्नु भएको थियो । 

आज नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रममा नगरपालिका वडा नम्बर १, ४, ५, ९, ११, १२ र १३ का अध्यक्ष तथा सचिवहरु, नगरपालिका अन्तरगतका बिभिन्न शाखा प्रमुखहरु र पञ्जिकरण शाखाका सम्पूर्ण कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सिविस नेपालका सामाजिक परिचालन अधिकृत गणेशकुमार खड्काले गर्नु भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update