Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीको आठौं गाउँसभा सम्पन्न, शिक्षा र आर्थिक ऐन संशोधन, राजस्वको दायरा हेरफेर 
गाउँसभा ।

रुकुम पश्चिमको  त्रिवेणी गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँसभाले संशोधित आर्थिक ऐन २०७९ तथा संशोधित शिक्षा ऐन २०७९ पास गरेको छ । राजश्व परामर्श समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले पेश गरेको संशोधित आर्थिक ऐन २०७९ सभाले पास गरेको हो । रेउलेद्वारा पेस गरिएको संशोधित ऐनमा राजस्व सम्बन्धि हेरफेर गरिएको छ । संशोधित ऐन अनुसार कपडा पेल्ने (मेसिन)  टेक्टर, घुम्ती व्यवसाय, खोटो, कवाडी सामान, पर्यटन शुल्क लगायतको राजस्व तोकिएको छ ।

त्यस्तै, त्रिवेणीको शिक्षा ऐन संशोधन २०७९ पास भएको छ । समाजिक विकास समिति संयोजक रणबहादुर पुनले पेस गरेको संशोधित ऐनमा नयाँ बिद्यालय खोल्ने अनुमति दिने, विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको छनौट सम्बन्धि व्यवस्था, प्रधानाध्यापक सम्बन्धि व्यवस्था लगायतका विषय समावेश भएका छन ।

गाउँसभाद्वारा विभिन्न प्रस्तावहरु पनि पास भएका छन । आर्थिक विकास समिति संयोजक भद्रबहादुर सिर्पालीले पेस गरेको ६ वटा योजनाको रकम रकमान्तर गरेर अन्य ६ योजना निर्माण गर्ने प्रस्ताव पास भएको छ । त्यसैगरी २०७८/०७९ को बेरुजु फछ्र्यौट गर्ने प्रस्ताव पास भएको छ । लेखा समितिका  संयोजक सुन्दर ओलीले ३ करोड १२ लाखको बेरुजु फछर्यौट गर्न महालेखामा दाखिला गर्न गरेको प्रस्ताव पास भएको हो  ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/०८० अर्धबार्षिक प्रगति विवरण अनुसार चालु खर्च ३१ प्रतिशत र पुँजीगत खर्च १३ प्रतिशत रहेको उल्लेख छ । साथै यो अर्धवार्षिक अवस्थामा ३३ लाख ४३ हजार २ सय ७ रुपैयाँ राजस्व संकलन भएको छ । यो वर्ष गाउंपालिकाले १ करोड राजस्व संकलनको लक्ष लिएको छ । ७५ वटा टुक्रे योजनामध्ये ६७ वटा सम्झौता भएको उल्लेख गरिएको छ । उहाँका अनुसार सम्झौता भएका मध्य ३३ वटा योजनाका काम पूर्ण रुपमा सम्पन्न भैसकेका छन । बाँकी योजनाका काम चलिरहेको बताइएको छ । 

अव ८ वटा योजना मात्र सम्झौता हुन बाँकी रहेका छन । त्रिवेणी गाउँपालिकाको सभाहल खारानेटामा आइतबार सम्पन्न आठौं गाउँसभा तथा हिउंदे अधिवेशनमा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य मिलन खड्का, पूर्व आर्थिक तथा योजना मन्त्री गोपाल शर्मा, जिल्ला समन्वय समिति सदस्य गीता नेपाली, जिल्ला समन्वय समितिका पूर्व सदस्य टेकबहादुर ओली, गाउँपालिकाका पूर्व उपाध्यक्ष निर्मला बिष्ट खड्का, राजनीतिक दलका प्रमुख र प्रतिनिधी, पुर्व जनप्रतिनिधी, पत्रकार, कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update