Kakhara सबैको खबर सम्पूर्ण खबर
बेल्टापु मेलाको अवसरमा खेलकुद सुरु 
खेलकुद प्रतियाेगिताकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा परम्परागत बेल्टापु मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता सुरु भएको छ । आज गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले एक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गर्नुभयो । मेलाको अवसरमा बेल्टापु मेला व्यवस्थापन समितिले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । आयोजक समितिका अध्यक्ष शुशील खड्का हिमालका अनुसार पुरुष फुटबल, महिला पुरुष खुला भलिबल, खुला ब्याडमिन्टन र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको छ ।

अध्यक्ष खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, जनप्रतिनिधि, कर्मचारी लगायतको आतिथ्यता रहेको थियो । सानीभेरी ३ का वडाध्यक्ष जगदिश नकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन हरिभक्त भण्डारीले गर्नुभएको थियो । आजबाट सुरु भएको खेलकुद ४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

मेला पनि मंसिर ४ गते नै लाग्ने छ । भलिबल अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख २५ हजार, उपविजेताले नगद ७५ हजार र सान्त्वना हुने दुई टिमले ३०–३० हजार पुरस्कार पाउने छन् । दर्ता शुल्क १० हजार राखिएको छ । महिला तर्फको विजेताले नगद ६० हजार, उपविजेताले नगद ४० हजार र सान्त्वना हुने दुई टिमलाई समान १५–१५ प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलको विजेताले २० हजार, उपविजेताले १५ हजार र सान्त्वना हुने दुई टिमले समान २–२ हजार पुरस्कार पाउने छ । त्यस्तै स्लो बाइक रेस प्रतियोगिताको प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार र तेस्रो पुरस्कार ४ हजार पुरस्कार पाउने बताइएको छ । प्रतियोगिता सानीभेरी ३ को बेल्टापु खेलमैदानमा भइरहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update