
सिस्ने गाउँपालिका लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको एक स्थानीय तह हो । साविकका स्यालापाखा गाविसका ७ वडा, पोखरा गाविस, रुकुमकोट गाविसका ८ र प्वाङ गाविस मिलाएर सिस्ने गाउँपालिका बनाइएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमध्य एक मात्र महिला अध्यक्ष रहेको स्थानीय तह हो, रुकुम पूर्वको सिस्ने गाउँपालिका । गाउँपालिकाको नेतृत्व गर्ने त्यो अवसर कुमारी बरालले पाउनुभएको छ । ८ वटा वडा रहेको यो गाउँपालिकामा पछिल्लो तीन वर्षमा के के भए ? के गर्ने प्रयास भइरहेको छ ? योजना र प्राथमिकता के के छन् ? यिनै विषयमा केन्द्रीत रहेर गाउँपालिका अध्यक्ष कुमारी बरालसँग गरिएको कुराकानीको सारसंक्षेप–सम्पादक ।
तीन वर्षको संक्षिप्त समिक्षा कसरी गर्नुहुन्छ ?
शुन्यताबाट स्थानीय सरकारले काम थालेको थियो । देशमा संघीयताको पहिलो अभ्यास थियो । त्यसको नेतृत्व गर्ने अवसर हामीलाई आयो । यसलाई अवसर र चुनौतीका रुपमा स्वीकारेर कामको थालनी गर्यौं । साविकका गाविस मिलाएर गाउँपालिका बनाइएको थियो । गाविस चलाउने कर्मचारी र संरचनाबाट स्थानीय सरकारको सुरुवात भएको थियो । स्थानीय तहको निर्वाचन सकिदासम्म एक जना प्रमुख प्रशासकीय अधिकृत तथा केही कर्मचारीले मात्रै काम गरिरहनु भएको थियो । स्रोत, संरचना र जनशक्ति अभावका विचमा सिस्ने गाउँपालिकाको दैनिक कार्य सम्पदान हुँदै आएको थियो । त्यसैमा हामी जनप्रतिनिधिले पदभार ग्रहण गरेर काम थालेका हौं । स्थानीय सरकार ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त भएको संरचना हो । संघ, प्रदेश र स्थानीय तह गरेर संघीयताको अभ्यास भयो । गाउँपालिका पनि एउटा स्थानीय तह हो । जनताको नजिकको सरकार हो । संघ, प्रदेश, अरु सरकारी निकाय, गैसरकारी क्षेत्र र आम गाउँपालिकाबासीसँगको सहयोग, सहकार्य, समन्वयमा गाउँपालिकाका कार्य सम्पादन गरिरहेका छौं । मैले माथि पनि भनें गाउँपालिकामा हरेक हिसाबले असजिलो र चुनौती धेरै थियो । त्यसकै बीचबाट हामीले कार्य सम्पादन थाल्यौं । एउटै कार्यकक्षमा अध्यक्ष उपाध्यक्षले कार्यभार सम्हालेर काम थालनी गरेका हौं । सुरुमा नीति, विधि र कार्य विधि खासै थिएनन् । नमूना नियम कानूनका आधारमा गाउँ सभाबाट ऐन, नियम, नीति, निर्देशिका, मापदण्ड, कार्यविधि बनाएर कामकाज थालियो ।
गाउँपालिकामा काम गर्न चुनौती जति थियो । अवसर पनि त्यतिकै थिए, छन् । सिस्ने गाउँपालिकाले व्यवस्थित तरिकाले विकास निर्माण तथा चेतना निर्माणमा काम थालेको हो । एकीकृत गुरुयोजना, सहरी गुरुयोजना लगायतका आधारभुत कुरा पूरा गरेपछि बजेट निर्माण र कार्यान्वयन गरिएको थियो । हालसम्म पनि गुरु योजनामा टेकेर योजना निर्माण तथा बजेट विनियोजन भइरहेको छ । यसैबाट माग र आवश्यक्तालाई सम्बोधन गर्न सजिलो भइरहेको छ । गुरु योजना भित्र मसिना मसिना कुरा समेत उल्लेख छ । गाउँपालिकाको भौतिक वनावट र अरु समग्र वस्तु स्थिति अनुसार प्राथमिकता निर्धारण गरेका छौं । सडक, भौतिक पूर्वाधार, बसाई, कृषि, औद्योगिक क्षेत्र, चरण क्षेत्र लगायतका विषय पनि कता कता गर्ने र कसरी गर्ने सम्मको निक्र्योल पनि गुरुयोजनामा लगाइएको छ ।
थोरै संरचनाबाट सिस्ने गाउँपालिकाले काम थालेको थियो । हाल प्रशासनिक संरचना बनेका छन् । दरबन्दी अनुसारका कर्मचारी लगभग सबै छन् । अपुग कर्मचारी शाखागत रुपमा करारमा नियुक्त गरिएको छ । ६ नम्बर वडा बाहेक सबै वडाले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेका छन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने क्रममा छ । सभा हल, सेफ हाउस् बनेका छन् । यिनै भवनको उपयोग गरेर सेवा प्रवाहलाई जति सक्यो सेवाग्राहीमैत्री बनाउन प्रयास गरिएको छ । पालिकाका सबै सेवा एउटै छानामुनिबाट दिने प्रयास गाउँपालिकाले गरिरहेको छ ।
पूर्वाधार क्षेत्रमा पनि उल्लेख काम भएको दावी मेरो छ । गत आर्थिक बर्षसम्म ६२ किलोमिटर सडक निर्माण भएको छ । यो बर्षको हिसाब गर्न बाँकी छ । सडक सञ्जालमा ६ वडा जोडिएका छन् । १ र २ नं. वडालाई पनि सडक सञ्जालमा जोड्न पहल भइरहेको छ । भौगोलिक कठिनाइका बाबजुद पनि २ र १ नम्बर वडाको सडक निर्माणको कार्य अघि बढिरहेको छ । हरेक बर्ष पालिका, प्रदेश तथा संघबाट बजेट विनियोजन हुने र सडक निर्माण कार्य भइरहेको छ । गाउँपालिकामा ५० शैøयाको अस्पताल बनेको । भलै त्यसको अरु व्यवस्थापनका काम बाँकी छन् । २ नम्बर वडाको नायगाडमा ५ बेडको अस्पताल निर्माण भइरहेको छ । गाउँपालिकाभर ६ वटा सामुदायिक स्वास्थ्य इकाई भवन बनेका छन् । यसबाट सर्वसाधारणको आधारभुत स्वास्थ्यमा सहज पहुँच पुगेको छ । ५ वटा प्रसुति गृह बनाइएको छ । हरेक गर्भवती आमालाई स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने वातावरण यसबाट बनेको छ । गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह भइरहेको छ । महिला स्वास्थ्य स्वयम सेविकालाई प्रोत्साहन भत्ता थप गरिएको छ । उनिहरुले महिनाको ५ सय रुपैयाँ गाउँपालिकाको तर्फबाट पाउँछन् । विपन्नहरुले उपचारका लागि सिफारिसका साथै उपचार रकम पनि गाउँपालिकाबाट पाउँछन् ।
गाउँपालिकाको अभियान एक गाउँदेखि अर्को नजिक बनाउने हो । सडक, पुल, ट्रस र झोलुङ्गे पुलको सहायताले गाउँपालिकाले त्यो काम गरिरहेको छ । पछिल्लो तीन बर्षको अवधिमा १७ वटा ट्रस र झोलुङ्गे गरी पुल बनेका छन् । गाउँपालिका काठका पुलमुक्त बनाउने अभियानमा छ । चालु आर्थिक बर्षमा ५ वटा झोलुङ्गे पुल बन्दैछन् । सम्भव भएसम्म स्थानीय स्रोतले पुगेसम्म विद्युत उत्पादन र विद्युतिकरणमा पनि गाउँपालिकाले ध्यान दिएकै छ । २ नम्बर वडाको छिपखोला छिपखोलामा ४० किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण भएको छ । जामाखोला लघु जलविद्युत आयोजना ९० किलोवाट पूर्ननिर्माण भयो । १ नम्बर वडामा पाखाओराली लघु जलविद्युत आयोजना ४६ किलोवाट निर्माणको चरणमा छन् । तुवाङखोला, नौधारी, छिपखोला, च्युराखोला र नवभिजन गरी ५ वटा विद्युत आयोजना पनि मर्मत सम्भार तथा अनुदानमा परेका छन् । नेपाल विद्युत प्राधिरकणको केन्द्रीय प्रशारण लाइन ५ र ६ नम्बर वडामा विस्तार भएको छ । ७ र ८ नम्बर वडामा विस्तारको काम भइरहेको छ । ३ र ४ नम्बर वडाको विस्तारको तयारी छ । उज्यालोयुक्त गाउँपालिका बनाउने योजनामा हामी छौं । गाउँपालिकाका ३ हजार ८ सय घरधुरीमध्य ३ हजार ३ सय घरधुरीमा विद्युत बलिरहेको छ । स्थानीय उत्पादन र केन्द्रीय प्रशारण लाइन मार्फत बाँकी घरमा पनि छिटै विद्युतिकरण गरेर उज्यालो सिस्ने बनाउने अभियान जारी छ । यसमा संघ, प्रदेश सरकारको साथै अरु निकाय र सर्वसाधारण सबैको उत्तिकै सहयोग, सचेतता र जागरुकता छ ।
मैले माथि पनि भनेको छु । भौगोलिक बनावटले विकासमा चुनौती छ । यस अघि गाउँपालिकाका अधिकांश क्षेत्रमा फोन सम्पर्क हुदैन्थ्यो । अब त्यस्तो अवस्था छैन । गाउँपालिकाका अधिकांश क्षेत्र सञ्चारको पहुँचमा पुग्दैछन् । १ नम्बर वडाको सिस्ने र ६ नम्बर वडाको खोपिचारमा नमस्तेको टावर बन्दै छ । ४ नम्बर वडाको दादिङमा टावर निर्माण हुने तयारीमा छ । त्यसपछि गाउँपालिकाका सबै ठाउँमा सजिलै सम्पर्क हुने अवस्था छ । निर्वाचन अघि फोनको पहुँच नभएको २ नम्बर वडाको सबैतिर सजिलै फोन सम्पर्क हुने अवस्था बनेको छ । सबै वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यामिक स्तरका सबै विद्यालयमा इन्टरनेट जडान गरिएको छ । जिल्लामा सञ्चालित एफ.एम रेडियोलाई अनुदान दिइएको छ । सूचना, समाचार र मनोरञ्जनका लागि स्थापित रेडियोप्रति स्थानीय सरकार पनि उत्तरदायी बन्नुपर्छ भनेर अनुदान दिइएको हो ।
गाउँपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गरिएको छ । ६ देखि ८ सम्मको पाठ्यक्रम बनेको छ । पाठ्यपुस्तक ६ कक्षाको बनेको छ । अरु कक्षाको पनि बनाउने तयारी भइरहेको छ । आधारभुत तहमा पनि स्थानीय पाठ्यक्रम बनाउने कार्यक्रम छ । शिक्षा सम्बन्धिका नीति, कार्यविधि, नियम, नियमावली बनेर कार्यान्वयनमा छन् । ६२ जना शिक्षक करारमा नियुक्त गरी विद्यालयमा पठाइएको छ । यसबाट अभिभावकहरु शुल्क तिरेर विद्यालय चलाउनुपर्ने बाध्यताबाट मुक्त हुनुभएको छ । यद्यपी यो पनि पर्याप्त छैन । पर्याप्तताको लागि काम भइरहेको छ । यसले शिक्षाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ । यसको रिजल्ट तत्कालै नदेखिएला तर सुधार पक्कै हुने छ । ६ वटा ४ कोठे पक्कि भवन निर्माण १७ वटा २ कोठे पक्कि भवन निर्माण भएका छन् । सबै ९ वटा माध्यामिक विद्यालयमा १२ वटा वास सहितका शौचालय निर्माण भएका छन् । ८ कोठाको एउटा छात्राबास बनेको छ । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना भएका छन् । खेल मैदान, घेराबार, फर्निचर व्यवस्थापनमा पालिकाका सबै विद्यालय समेटिएका छन् । प्राविधिक धार इलेक्ट्रोनिक ओभरसियर, कृषि जेटिए र सिभिल ओभरसियरको पठन पाठन पालिकामै सुरु भएको छ । त्यसका लागि भौतिक संरचना, आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गरिएको छ । गाउँपालिकाभर १३ वटा बाल विकास कक्षा सञ्चालन भएको छ । गाउँपालिकाभरका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ । गत बर्ष सम्म विश्व खाद्य कार्यक्रमले १० विद्यालय र गाउँपालिका आफैले १० विद्यालयमा दिवा खाजा सञ्चालन गरेकामा यो बर्ष गाउँपालिकाले ४० वटै विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरिरहेको छ । विद्यार्थीलाई आकर्षित गर्न समय अगावै घर नजाने वातावरण बनाउन हरेक दिन दिवा खाजा खुवाइने र त्यसको व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ । विशेष शिक्षामा त्रिभुवन जनता मावि छिप्रिदहमा भवन निर्माण, कोट मावि रुमालबारमा २ कोठे छात्राबास बनेको छ । नमूना विद्यालय रुक्मीणि माविमा भौतिक संरचना उल्लेख्य निर्माण भएका छन् । नमूना विद्यालय अन्तर्गत अन्य विविध कार्यक्रम पनि भइरहेका छन् ।
गाउँपालिका आफैले छोरी बीमा कार्यक्रम सुरु गरेको छ । नियमित गर्भ जाँच होस् । प्रसुती हुनका लागि स्वास्थ्य संस्था जाने वातावरण बनोस्, छोरीको भ्रुण हत्या नहोस् र २० बर्ष नपुगि कसैको विहे नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले छोरी बीमा कार्यक्रम सुरु गरेको हो । यसमा गाउँपालिका आफैले छोरीको खाता खोलिदिने र ५ हजार नगद जम्मा गरिदिने गरी निर्णय गरेको छ । यो रकम २० बर्ष नपुगि निकाल्ने पाइन्न । २० बर्ष अगावै विहे गरेपनि यो रकम निकाल्ने व्यवस्था छैन । यसबाट सचेतना बढाउने उद्देश्य रहेको छ । सिस्नेको विकास र समृद्धिका लागि भौतिक पूर्वाधार तथा चेतना निर्माण, नीतिगत सुधारमा उल्लेख्य काम भएका छन् ।
मुख्य प्राथमिकता के छन् ?
मैले सुरुमै पनि भनें हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छौं । योजना र बजेट यसरी नै विनियोजन भइरहेको छ । तर काम पूर्वाधारतिर बढी भइरहेको जस्तो देखिन्छ । यसको मतलव यो होइनकी यी प्राथमिकतामा खास काम भएको छैन । भएको छ । हामीले नीति, विधि र नियम, नियमावली बनाउदा नै यि प्राथमिकताका आधारमा बनाउने र कार्यान्वयनमा जाने गरेका छौं । कृषि, पर्यटन, वन वातावरण, फोहोर व्यवस्थापन पनि हाम्रो प्राथमिकतामै छन् । पर्यटनतर्फ समग्र योजना बनेको छ । हाम्रो गाउँपालिका पर्यटनमा ठूलो सम्भावना भएको पालिको हो । यसैले पनि हामीले विभिन्न कामको थालनी गरेका छौं । ठूला योजना निर्माणको प्लानमा छौं ।
यस अवधिसम्म गरिएको कामकाजबाट कतिको सन्तुष्ट हुनुहन्छ ?
यसमा प्रतिबद्धता अनुसारका काम भएका छन् भन्ने दावी हाम्रो छ । निर्वाचनका क्रममा के के गर्छौं भनेर प्रतिबद्धता गरेका थियौं । ति प्रतिबद्धता पूरा गर्दै हामी अरु विकासमा लागेका छौं । सकेसम्म सृजनशिलताका आधारमा विकास निर्माण तथा नीति निर्माणको काम भइरहेको छ । यसमा जनताका माग र आवश्यक्ता बढ्दै जानु र काम कम भएको जस्तो देखिनु स्वभाविक छ तर फिल्डमा गएर हेर्ने हो भने उल्लेख्य काम भएका छन् । विकास भएको छ । भौतिक पूर्वाधारदेखि चेतना निर्माण, सशक्तिकरणमा पनि महत्वपूर्ण काम सम्पन्न भएका छन् । हुने क्रममा छन् । विकासको भोक मेटिन्न । माग बढिरहेको आवश्यक्ता बढिरहेको छ । माग र आवश्यक्ताका आधारमा यो पुग्दो नभएको कुरा पनि साँचो हो तर कामै भएको छैन भन्ने कुरा सहि होइन ।
के के समस्या समाधान भए ?
समग्र रुपमा समग्र समस्या समाधानको प्रयास भएको छ । केही समस्या पूर्ण रुपमा नै समाधान भएका छन् । कृषि उत्पादन र त्यसको बजारीकरणका लागि संकलन र भण्डारण बनाइएको छ । ढल निकास बन्दै छ । यसले विस्तार हुँदै गएको बजारलाई ठूलो सहयोग पुर्याउँछ । जिल्ला अस्पतालमा ठूलो समस्याको रुपमा रहेको भवन निर्माण भएको छ । जसले डिजिटल एक्सरे सञ्चालनमा सहयोग पुगेको छ । गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । यसबाट पनि लामो समयदेखि झेलिदै आएको समस्या समाधान भएको छ । धाउनेमा ल्याण्डफिल साइड बनेको छ । यसबाट बजारको फोहोर व्यवस्थापन हुने अपेक्षा छ । मैले अघि बनेजस्तै स्वास्थ्य क्षेत्रका ठूलो समस्या समाधान भएको छ । जिल्ला अस्पतालदेखि गाउँपालिका अस्पताल, आधारभुत स्वास्थ्य सेवा स्थापना र सेवा प्रवाह चुस्त बनाइएको छ । शिक्षा क्षेत्रका धेरै समस्या समाधान भए । केही हुने क्रममा छन् । सडक र खानेपानीतर्फका समस्या पनि धेरै समस्या समाधान भए केही हुने क्रममा छन् । समाधान भएपनि माग र आवयश्क्ता बढ्दै गएपछि थप योजना र बजेटको आवश्यक्ता पनि बढ्दै गएको छ ।
अबको बाँकी कार्यकालमा के गर्नुहुन्छ ?
सुरु भएर पूर्ण नभएका सबै योजना पूर्ण गराउने योजना छ । हाम्रो कार्यकालमा थालनी भएका सकेसम्म सबै योजना पूरा गर्ने गरी लागेका छौं । गाउँपालिकाबासीलाई आत्मनिर्भरतातर्फ जोड्ने र त्यसका लागि निरन्तर पहल भएको छ र हुने पनि छ । रोजगार, स्वरोजगार कार्यक्रम मार्फत आत्मनिर्भर बन्नका लागि प्रेरणा दिने र आवश्यक परेपछि अनुदानको व्यवस्थापन पनि गर्ने योजना गाउँपालिकाले बनाएको छ । यस अघि पनि कृषि तथा पशु तथा अन्य विभिन्न व्यवसायका लागि गाउँपालिकाले युवाहरुलाई अनुदान दिएको छ । अब पनि ति कार्यक्रमलाई निरन्तरता दिइने छ ।