रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमा प्रथम भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा स्थानीय सरकारले गरेको कामका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्याङ्कन मार्फत प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सार्वजनिक गरेको छ ।
जसअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तह मध्येमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले बढी अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । विभिन्न १७ वटा सूचकका आधारमा मूल्याङ्कन भएकोमा आठबिसकोटले ७६.१६ अङ्क प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । हुम्लाको सिमकोट गाउँपालिका ७३.३७ अङ्कका साथ प्रदेशमा दोस्रो हुँदा हुम्लाकै खार्पूनाथ गाउँपालिका ७२.१७ अङ्कका साथ तेस्रो भएको आयोगको नतिजामा उल्लेख छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७१.३६ अङ्क प्राप्त गर्दै प्रदेशमा चौथो तथा रुकुम पश्चिममा दोस्रो भएको छ । जिल्लाका अन्य पालिका मध्ये सानीभेरी गाउँपालिकाले ६९.२८, बाँफिकोट गाउँपालिकाले ६८.२४, चौरजहारी नगरपालिकाले ६५.७० र मुसिकोट नगरपालिकाले ६५.३१ अङ्क प्राप्त गरेका छन् । यस अघि आयोगले फागुन ८ गते नतिजा प्रकाशित गरी पुनरावलोकनका लागि सात दिनको समय दिएको थियो ।
उक्त समयमा आएका निवेदनमाथि कारबाही गरी आयोगले अन्तिम नजिता सार्वजनिक गरेको जनाएको छ । यसै नतिजाका आधारमा आयोगको सिफारिसमा पालिकाहरूले नेपाल सरकारबाट आर्थिक वर्ष २०८१/०८२ का लागि वित्तीय समानीकरण अनुदान पाउने छन् ।
असार १० गते भित्र राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगर सभामा पेस गरे नगरेको, यसलाई असार मसान्तसम्म पास गरे नगरेको, पालिकाले विभिन्न शीर्षकमा उठाउने कर मध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेको र आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको आधारमा पालिकाको मूल्याङ्कन गर्ने गरिएको छ ।
त्यस्तै आवधिक योजना तर्जुमा गरे नगरेको, १ कक्षा देखि ८ कक्षासम्मको खुद भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका १७ वटा सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन हुने गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।