रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई भारत सरकारले एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदूतावासले आइतबार पालिकाकालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको हो । पालिकाको केन्द्र खारानेटामा पुगेर राजदूतावासका कर्मचारी अशोक सिन्हाले गाउँपालिकालाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो । गत वर्ष गाउँपालिकाले एम्बुलेन्सको लागि राजदूतावासमा माग पेस गरेको थियो । सोही आधारमा गाउँपालिकालाई भारत सरकारले ‘ख’ वर्गको एम्बुलेन्स सहयोग गरेको गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकालाई आधारभूत स्वास्थ्य उपकरण सहितको एम्बुलेन्स प्राप्त भएको छ । ‘ख’ वर्गको एम्बुलेन्समा अक्सिजन, सिसिक्यामेरा, एम्बुलेन्स भित्रै डेलिभरी गराउने सुविधा सहित, आधारभूत स्वास्थ्य उपकरणको सुविधा रहेको छ । एम्बुलेन्स प्राप्त भएसँगै सुत्केरी, अति विपन्न, लगायत अन्य बिरामीलाई सेवामा थप सहज पुग्ने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो । अब पालिकाका दुई वटा एम्बुलेन्स भएका छन् ।
गाउँपालिकाले यस अघि सुत्केरी महिला, अति विपन्न परिवारलाई निःशुल्क सेवा दिँदै आएको छ । अन्य बिरामीको हकमा भने जिल्ला प्रशासनले तोकेको रेटमा पालिकाले एम्बुलेन्सको शुल्क लिने गरेको गाउँपालिकाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केसीले एम्बुलेन्स सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दै ग्रामीण बस्तीका नागरिकलाई सुविधा सहितको एम्बुलेन्सले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूतावास कर्मचारी सिन्हाले आधारभूत स्वास्थ्य सेवा सहितको एम्बुलेन्सले स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने र यसबाट स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएका नागरिकले विशेष गरी लाभ लिन पाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष राजकुमारी रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुन, वडा अध्यक्ष लगायत गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।